इङ्लिस प्रिमियर लिग : लिभरपुल र स्वान्सी सिटी विजयी

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १७, २०७४

एजेन्सी

इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुल र स्वान्सी सिटी विजयी भएका छन् । प्रतियोगिताको १४ औँ जित हात पार्ने क्रममा लिभरपुलले हडर्सफिल्ड टाउनलाई ३–० ले स्तब्ध पार्यो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा अर्को गोल थप्दै सहज जित हात पारेको हो । अधिकांश समय हडर्सफिल्ड टाउनमाथि दबाब बनाएको लिभरपुलले दर्जन बढी थप अवसर खेर फालेको थियो । २५ खेलको समाप्तीमा १४ जित र ८ बराबरीसँगै ५० अंक जोडेको लिभरपुल तालिकाको चौथो स्थानमा यथावत छ ।

चेल्सीसँग समान अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल पछि परेको हो । गएराती नै आर्सनललाई ३–१ ले हराउदै स्वान्सी सिटीले प्रतियोगीतको छैटौं जित दर्ता गरेको छ ।

पहिलो हाफ एक एकको बराबरीमा सकिएपनि दोस्रो हाफमा स्वान्सीले २ गोल थप्दै खेल आफ्नो पक्षमा पारेको हो । जितसँगै स्वान्सी रेलिगेशन जोनबाट एक स्थान माथि उक्लिएको छ । बेष्टह्याम र क्रिष्टल प्यालेसले भने एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।