सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा भ्यालेसिन्यालाई २–१ ले हराएर सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।

५३ औं मिनेटमा भ्यालेन्सियाका एजिक्युल गारायले आत्मघाती गोल गरेपछि सेभिल्लाले अग्रता लियो । ६५ औं मिनेटमा एल हाडाडीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए । ७५ औं मिनेटमा निकोलस पारेजाले गोल गर्दै सेभिल्लालाई २–१ को जित दिलाए ।

जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको २७ अंक छ । तेस्रो स्थानको बार्सिलोनाले एक खेल कम खेलेको छ र उसको २६ अंक छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३३ अंक छ । राति नै भएको खेलमा मालागाले डिप्रोटिभो ला कोरुनालाई ४–३ तथा स्पानियोलले लेगानेसलाई ३–० ले हरायो ।