प्रहरीले काठमाडौंमै एकाएक ‘फायरिङ’ खोलेपछि …

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ २४, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – प्रहरी टोलीले काठमाडौंमा एकाएक फायरिङ खोलेर लुटपाटको घटनामा सलंग्न एक अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी ‘काका’ नामले परिचित छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ ।

महाशाखाका अनुसार उनको दाहिने खुट्टामा गोली लागेको छ । महाशाखाको विशेष टोलीले दुई राउन्ड गोली हानेर तामाङलाई नियन्त्रणमा लिएको हो ।

तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा सलंग्न अभियुक्त रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको जनाएको छ । तामाङका अन्य पाँचजना साथीहरू भने यसअघि नै पक्राउ परिसकेका छन् ।

तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरबाट १ लाख ७० हजार लुटेका थिए । उक्त समूहमाथि २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेको उजुरी महाशाखामा परेको छ ।

महाशाखाले तामाङसहित इलामको माइजोकमाई गाउँपाकिला–६ का २४ वर्षीय धराने भनिने नितेश तामाङ, रौतहटको चन्द्रनिगाहापुर–२ का २३ वर्षीय मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का २३ वर्षीय बाहुन भनिने रुपेश चौलागाँइ र मकवानपुरको शिखरपानी गाउँपालिका–८ का ३० वर्षीय जिग्री भनिने भीमराज थिङलाइ पक्राउ गरेको छ । घाइते तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।