निर्मला हत्याकाण्डजस्तै उखुबारीमा भेटियो शव !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ १४, २०७६

http://www.nepatop.com.np/

रौतहट – कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि बहुचर्चित बनेको घटनामा उनको शव उखुबारीमा फेला परेको थियो ।

त्यस्तै उखुबारीमा शव फालिएको घटना रौतहटमा समेत भएको छ । रौतहटको गौर नगरपालिकामा एक पुरुषको शव उखुबारीमा फेला परेको छ ।

गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर ७ सिसवाको उखुबारीमा शव फेला परेको हो । उखुबारीमा घाँस लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका छन् ।

मृतक व्यक्तिको पहिचान हुन नसकेको तथा शवलाई पोस्टमार्टमाका लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले बताए ।

‘अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको छ,’ डीएसपी कार्कीले भने, ‘उनको साथबाट पहिचान खुल्ने केही भेटिएको छैन । पोस्टमार्टम रिपोर्टपछि घटनाका बारेमा कुराहरू खुल्छन् ।’

केही दिन पहिले नै अन्य कुनै ठाउँमा हत्या गरी कसैले शवलाई फालेको आशंका स्थानीयले गरेका छन् । घटनाको बारेमा अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ ।