‘निम्छरो’ विवादमा केपी ओली र सभामुख महराबीच के भयो यस्तो ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

काठमाडौं – प्रधानमन्त्रीले प्रयोग गरेको असंसदीय शब्द हटाएको विषयलाई लिएर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराबीच चिसो बढेको छ ।

प्रधानमन्त्री देश बाहिर रहँदा सभामुखले ओलीले प्रयोग गरेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । तर प्रधानमन्त्री स्वदेश फर्किनसाथ उनले सभामुखको कदमप्रति आक्रोश पोखेका छन् ।

भियतनाम र कम्बोडिया भ्रमणबाट स्वदेश फर्किनसाथ त्रिभुवन विमानस्थलमा ओलीले भने, ‘मैले असंसदीय शब्द बोलेकै छैन, किन हटाउने ?

प्रधानमन्त्रीले आफ्ना सहकर्मीसँग सभाभुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका स्रोतको दाबी छ । सभामुख बढी जान्ने हुन थालेको प्रतिक्रिया प्रधानमन्त्रीले दिएका छन् । यसले संसद र सरकारबीच नै टकरावको अवस्था सिर्जना गर्नसक्ने खतरा देखिएको छ ।

भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा एक प्रश्नको उत्तर दिँदै उनले आफूले त्यस्तो कुनै अर्मादित शब्द प्रयोग नगरेको र, हटाउने पर्ने आवाश्यकता समेत नभएको बताए । उनले भने, ‘बरु संसद्मा विपक्षी दलले प्रयोग गरेको शब्द अमर्यादित छन । ती शब्द हटाइनु पर्छ ।’

मुलुकको सर्वाेच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला भन्दै प्रधानमन्त्री ओलीले यसलाई संसद्ले सच्याउन पर्नेमा जोड दिए । उनले घुमाउरो तरिकाले आफ्नो शब्द रेकर्डबाट हटाएकोमा असन्तुष्टि जनाए ।

सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रममाथि सांसद्ले उठाएको प्रश्नमाथि प्रतिनिधिसभामा जवाफ दिने क्रममा गत वैशाख २४ मा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी सांसद्बीच दोहोरी चलेको थियो ।

सभामुख कृष्णबहादुर महराले वैशाख २७ गतेको बैठकमा सो क्रममा प्रयोग भएका सबै असंसदीय अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग भएको ‘मेरो सरकार’ शब्दावलीप्रति कतिपय विपक्षी सांसद्ले व्यंग्य गरेकामा प्रधानमन्त्री ओलीले त्यसो गरिनु अशोभनीय भएको बताएका थिए ।