भोलि र पर्सी सार्वजनिक बिदा

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख २८, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – विभिन्न अवसर पारेर भोलि आईतबार र पर्सी सोमबार ललितपुरका केही स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेका छन् ।

भोलि आईतबार महालक्ष्मी नगरपालिकामा बिदा दिइएको छ भने सोमबार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले बैशाख २९ गते आईतबार सार्वजनिक बिदा दिएको हो । नगरपालिकाको गत बैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले आईतबार बिदा दिने निर्णय गरेको थियो ।

नगरपालिकाले एक सूचना प्रकाशित गरी महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रही आएकाले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पूजा गरिने दिन) सार्वजनिक बिदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा बैशाख २९ गते आइतबार अष्टमीका दिन सार्वजनिक बिदा हुने सूचनामा उल्लेख गरिएको छ ।

सोमबार ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका वांमय शताब्दीले पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन बिदा दिने निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यावारिधि प्राप्त व्यक्तित्व जोशी सोमबार अर्थात् बैशाख ३० गते ९९ वर्ष पूरा गरी एक सय वर्षमा प्रवेश गर्दैछन् । यस अवसरमा ललितपुर महानगरपालिका मातहतका सबै कार्यालय लगायत संघसंस्थालाई बिदा दिने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई कला, साहित्य र संस्कृतिमार्फत चिनाउन महत्त्वपूर्ण गरेका जोशीको महानगरले बैशाख ३० गतेबाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ ।

उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको र्‍याली शुरू हुनेछ । लगनखेल, जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ । र्‍याली कार्यक्रममा सहभागी हुन महानगरले नगरबासीलाई अनुरोध गरेको छ ।

यसैगरी महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्षअघि मोटर, सवारीचालक, गार्ड र मोबाइल प्रदान गरेको थियो ।