रेशम चौधरीलाई जेलबाट छुटाउन आन्दोलन घोषणा

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, बैशाख २७, २०७६

http://www.nepatop.com.np/

राजविराज – कैलालीको टीकापुर घटनामा दोषी ठहर गरी जन्मकैदको फैसला सुनाइएका रेशम चौधरीलगायत अन्य ११ जनाको जेल मुक्तिका लागि आन्दोलन घोषणा गरिएको छ ।

राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ‘माननीय रेशम चौधरी बचाऔं अभियान संघर्ष समिति’ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

चौधरी कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए । तर हत्याकाण्डको मुद्दामा उनलाई अदालतले जन्मकैदको सजाय दिएको छ ।

राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । संयोजक थारुका अनुसार भेलाले रेशम चौधरी बचाऔं अभियान, सरोकारवालासँग टीकापुर घटनाका विषयमा ध्यानाकर्षण तथा प्रदेश स्तरीय तथा काठमाडौं केन्द्रित जनसभा र अन्य दबाबमूलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) ले समेत रेशम चौधरीका सन्दर्भमा सरकारलाई दबाब दिँदै आएको छ । झापादेखि कञ्चनपुरसम्म संगठन निर्माण र सचेतना कार्यक्रम, मेची–महाकाली जागरण अभियान, प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री तथा सभामुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्ने पनि बताइएको छ ।

संयोजक थारुले थरुहट आन्दोलनलाई विशुद्ध आतंककारी घटनाका रुपमा हेरेर आन्दोलनकारीलाई आजीवन कैदको सजाय सुनाइएको हुनाले आन्दोलनमा जानुको विकल्प नभएको पनि बताए । टीकापुर घटनामा सुरक्षाकर्मी र बालकको हत्या भएको थियो ।