कांग्रेसका मेयर सरकारी ढुकुटी जोगाएर यसरी बनाउँदैछन् कार्यालय भवन

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, कार्तिक ३, २०७५

वालिङ – नेपाली कांग्रेसबाट भिरकोट नगरपालिकाको मेयरमा निर्वाचित छायाराम खनालले सरकारी ढुकुटी बचाएर नगरपालिका कार्यालय भवन बनाउन सुरु गरेका छन् ।

कार्यालय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा दानमा उपलब्ध भएपछि जग्गा किन्ने पैसा सरकारी ढुकुटीमा बचत भएको हो । आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला केही व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भिरकोट नगरपालिकाले नयाँ भवन बनाउन लागेको छ ।

भवनका लागि स्थानीय समाजसेवी गोविन्दकुमार कर्माचार्य, भीमलाल कर्माचार्य, फत्तबहादुर केसी, रुद्रबहादुर केसी र इन्द्रबहादुर केसीले दुई करोड रुपैयाँ मूल्य बराबरको वडा नम्बर १ स्थित दार्सिङ भोर्लाकुनामा रहेको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

काम थालिएको दुई वर्षभित्र भवन निर्माण गरिसक्न गजेन्द्र निर्माण सेवासँग १० करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिएको नगर प्रमुखका स्वकीय सचिव नन्दु खनालले बताए ।

भवन शिलान्यासका क्रमममा नगर प्रमुख छायाराम खनालले कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा जग्गादाताको प्रशंसा गरे ।