दशैंपछि यस्तो हुँदैछ कम्युनिस्ट सरकारमा फेरबदल, ओलीको सचिवालय पुनर्गठन हुने

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, अशोज ३१, २०७५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारप्रति असन्तोष बढ्दै गएकाले दशैंपछि ओली सरकारमा फेरबदल हुने निश्चित भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् ओली निकट सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् । बस्नेतलले प्रधानमन्त्रीको सचिवालय पनि पुनर्गठन हुने दाबी गरेका छन् ।

उनले भने, दशैंलगत्तै मन्त्रीमण्डलमा हेरेफेर र प्रधानमन्त्रीको सचिवालयमा हेरफेर हुन्छ ।’ बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा नेता बस्नेतले दशैं लगत्तै सरकारले केही लोकप्रिय कार्यक्रम ल्याउने बताउँदै भने, ‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफल हुनुभएको छ र आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’

बस्नेतले सरकार सफल भएको बताइरहँदा सरकार सिण्डिकेट, सुनकाण्ड, निर्मला हत्याकाण्ड लगायतमा लगातार असफल हुँदै आएको छ । जसका कारण सरकारको चर्काे आलोचना भइरहेको छ । सांसद बस्नेतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग जनता अहिले खुशी रहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको भन्दै नेता बस्नेतले सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’का गतिविधिहरु एकदमै गलत रहेको बताए ।

उनले भने, ‘उनीहरूको गतिविधि एकदमै गलत छन् र कतिपय नेताहरुले उनीहरूलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’ २ नम्बर प्रदेश र संघीय सरकारबीच बढेको असमझदारी विस्तारै घट्दै जाने बस्नेतको भनाइ छ ।