दशैं मनाउन घर जाँदा दुर्घटनामा परेर दुई जनाको मृत्यु, पाँच यात्रु घाइते

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, अशोज ३१, २०७५

चितवन – दशैं मनाउन घर गइरहेका व्यक्ति सवार मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा१झ ५६५ नम्बरको ट्यांकरले बुधबार दिउँसो १२ः४० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ कल्लेरीका अन्दाजी २५ वर्षीय चन्द्रबहादुर नेपालीे र नाम नखुलेको एक बालक रहेका छन् । सोही घटनामा घाइते भएका पाँचजनामध्ये एकजनाको भरतपुरस्थित सरकारी अस्पताल र एक जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य तीनजना उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृतकहरु भ्यान र ट्यांकर कुनमा सवारी गरेकोे हो भन्ने पहिचान हुन सकेको छैन । दुर्घटनग्रस्त भ्यान सडकमा नै छ भने ट्यांकर त्रिशूली किनारमा खसेको छ ।