चित्रबहादुर भन्छन्ः तराई अलग्याउन खोज्नेहरु कालो दिवसको धम्की दिँदैछन्

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, अशोज २, २०७५

 

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानभित्र भएका केही असहमतिका विषय हुँदाहुँदै पनि ऐतिहासिक संविधान दिवस मनाउनुपर्ने बताएका छन्।

राजपा र संघीय समाजवादी फोरमको उद्देश्य पूरा नभएकाले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउन लागेको तर्क केसीले गरेका छन्।

तराईलाई हिमाल र पहाडबाट अलग्याएर सिक्किम बनाउने चाहना र लक्ष्य पूरा नभएकाले दुईवटा दलले अझै पनि संविधान स्वीकार गर्न नसकेको केसीको आरोप छ ।

पत्रकार ऋषि धमलासँगको बहसमा केसीले भने, ‘अंगिकृत नागरिकलाई बंशजको बनाउनुपर्ने, तराईलाई भित्री मधेशलाई हिमाल पहाडबाट टुक्र्याउनुपर्ने, यस्तो जुन चाहना छ त्यो पूरा नभएकाले उहाँहरुले धम्क्याउने, बार्गेनिङ गर्ने गरिरहनुभएको छ।’

मधेशका सबै जनता देशको सार्वभौमिकता र राष्ट्रियताको विरोधी नभएको भन्दै केसीले केही व्यक्तिको स्वार्थ पूरा नभएको संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेको आरोप लगाए।