काे हुन् प्रचण्डलाई सिद्याउन खोज्ने व्यक्ति ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र २३, २०७४

काठमाडौँ– सेनालाई जुनसुकै सिष्टम आए पनि फरक नपर्ने रहेछ । राजा सक्रिय रहेकै बेला एउटा घटना भएको थियो जसको पुनरावृत्ति गत साता देख्न पाइयो । त्यसबेला एक जना जर्नेल थिए, भिक्ट्री राणा नाम गरेका । उनलाई घर बसेको एक महिनापछि पुनर्बहाली गरिएको थियो ।

ब्रिगेडियरबाट म्याद थपी दुई तारेमा उकालिएका उनलाई पछि तीनतारेसम्म बनाएर बर्मामा राजदूतको जिम्मा दिई पठाइयो । अहिले पनि सेनामा तीजस्तै शक्तिशाली एकजना कर्णेल देखा परेका छन् । जसको नाम हो– डिकबहादुर थापा । पासपोर्ट नेपालमै छाडेर पल्टनसहित सुडान पुग्ने हुस्सु हाकिम हुन् उनी ।

सेनापतिले यस्तै मानिसलाई सिफारिस गरेपछि अरूको बढुवा हुने कुरै भएन । फेरि जो मन्त्री आए पनि त्यस्तैको बढुवालाई सदर गर्दै ल्याप्चे लगाउने गरेको देखिन्छ ।

यसबीच सेनापतिले चाहिँ सुडान, कंगोलगायत नेपालका शान्ति सेना तैनाथ मुलुकको भ्रमणमा जाँदा त्यो विभाग हेर्ने हेमन्त कुँवरलाई नलिईकन दुई वर्षमै दुईतारे जर्नेल भएका बहुपत्नीका धनी र बजेट महाशाखा हेर्ने भुवन अधिकारीलाई लगेका छन् । स्टाफ अफिसरको रूपमा बजेटका मान्छे बोकेर उनले गर्दै गरेको अफ्रिका भ्रमणलाई सेनाका मान्छेले ज्ञानेन्द्रको अफ्रिका भ्रमणसँग तुलना गरेका छन् ।

यसअघि गौरव समशेरले विकास निर्माणका इञ्जिनियर जर्नेल नरेश बस्नेतलाई च्यापेझैं राजेन्द्र क्षेत्रीले पनि पैसा खेलाउने हाकिमलाई भाउ दिने गरेको आरोप छ । उनको सैनिक सचिवालयमा एक महिनादेखि २ जना जर्नेल छन् । राष्ट्रिय निकुञ्जमा तीन वर्षदेखि कर्णेलले कब्जा जमाएर बसेका छन् ।

त्यतातिर आँखा लगाउने खड्ग मल्ललाई सैनिक सचिवमै अल्झाएर राखिएको छ । जुम्लाबाट ल्याइएका सुरजप्रताप राणा पनि त्यहीँ छन् । ०५२ सालमा एमाले सरकार हुँदा गडुल समशेरले ब्रिगेडियर जनरलको पाँच वर्षे कार्यकाल सकिएपछि ३ वर्षसम्म पदावधि थप्न सकिने प्रावधान प्रयोग गर्दै दुई जनाको नाम पठाएका थिए ।

डा. मदनमान अमात्य र पाइलट तेजजंग थापाको नाम थियो त्यो लिस्टमा । पछि गिरिजाको सरकार बन्यो, धर्मपालवरसिंह थापा सेना प्रमुख बने । उनले ‘म कसैको पनि म्याद थप्दिन, यसले तलकाको बृत्ति विकास रोकिन्छ’ भनेर फाइल फर्काए । तर, पछि दरबारमा एउटा मिटिङ बस्यो ।

भिक्ट्री राणा फिल्डमार्सल नीर समशेरका नातेदार भएको कारण मुमा बडामहारानी रत्न, म्याद नथपिएका ताराबहादुर थापासहित बसेर उनलाई खुसुक्क म्याद थप्ने काम भयो । गोपालसिंह बोहरा पछि दार्चुलाबाट एमालेको सांसद भए । उनी पनि जर्नेल थिए तर उनलाई भने त्यो बेला घर पठाइयो । अहिले त्यही तरिकाले कपनमा महल बनाएर बसेका, विवादमा परेका व्यक्तिको म्याद थप्ने काम भएको छ ।

मिसनमा नेतृत्व गरेर जाँदा पासपोर्ट यतै छोेडेर जाने डिकबहादुर कुनै बेला रुक्मांगद कटवालका दाहिने हात थिए । द्वन्द्वकालमा जिउँदै समातिएका माओवादीलाई यातना दिने र बेपत्ता बनाउने कामका कारण उनी गोर्खामा रहँदा चर्चामा आए । यिनकै पालामा माओवादी चर्चित नेत्री रेखा शर्माले चरम यातना पाएकी थिइन् ।

कटवालको अंगरक्षकसमेत रहेका उनी प्रधानमन्त्री प्रचण्डविरुद्ध सेनापतिलाई उकास्नेमध्येका हुन् । त्यो बेला प्रधानमन्त्रीनिवास लक्ष्य गरेर भैरवनाथ गणको फौज बोलाई मेसिनगन फिट गर्ने काममा सक्रिय थिए । सिपाही दर्जामा जागिर शुरु गरेका उनको सम्पत्ति कति छ भन्ने सायद उनैलाई यकिन छैन होला भन्छन् नातेदार ।

उनको सेवा अवधि चैत मसान्तमा सकिँदै थियो । म्याद नथप्ने निर्णय तीनतारे जर्नेलको बोर्डबाट भएकै हो । तर, अन्ततः सेनापतिको जोडमा म्याद थपियो । मुस्ताङस्थित गणमा भएको भ्रष्टाचार काण्डमा परेर ५ वर्ष प्रमोसन रोकिएका महासेनानी इन्द्र रायमाझीको पनि वाम गठबन्धनको प्रतापका कारण एक वर्ष मात्र सजाय हुनेगरी ४ वर्ष कटौती भएको छ ।

(जनआस्था साप्ताहिकबाट)