भावी प्रधानसेनापतिका पीए र एआईजीकी श्रीमती भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ– नेपाली सेनाका भावी प्रधानसेनापतिका पीए र राष्ट्रिय अनुसन्धान विभागका एआईजीको श्रीमती भन्दै १ करोडभन्दा बढी ठग्ने ४ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको टोलीले लमजुङ घर भई काठमाडौं तारकेश्वर बस्दै आएका मोहन दुरा, मनमैजु बस्ने पशुपति अधिकारी, तनहुँ व्यास बस्ने यमुना खड्का र वनस्थली बस्ने रमेश कुमाललाई पक्राउ गरेको हो ।
उनीहरुले सेना, प्रहरी र राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिनेदेखि क्यानडा, अमेरिका, पोल्याण्ड पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग १ करोडभन्दा बढी ठगी गरेका थिए । काठमाडौंका एसएसपी विश्वराज पोखरेलका अनुसार यो गिरोहले राष्ट्रिय अनुसन्धान विभागको सिपाहीमा भर्ना गर्ने भन्दै २ लाख, शान्ति मिसनमा पठाउने भन्दै २ लाख तथा सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनाइदिने भन्दै ७ लाख लिएको देखिएको छ ।
पक्राउ परेकी यमुनाले आफू राष्ट्रिय अनुसन्धान विभागका एआईजीकी श्रीमती र मोहन दुराले भावी प्रधानसेनापतिको पीए बताउने गरेको प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न व्यक्तिलाई नक्कली एआईजी र नक्कली भावी सेनापति भन्दै फोनमा कुरा समेत गराउने गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी पोखरेलले बताए ।
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ।