पाटन दरबार क्षेत्रमा सवारी निषेध गर्ने तयारी

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

काठमाडौं– ललितपुरको पाटन दरबार क्षेत्रमा सवारी साधन निषेध गर्ने तयारी भएको छ । ठमेल पशुपतिनाथ र असनपछि पाटन दरबार क्षेत्रलाई सवारीसाधन निषेधित क्षेत्रका रुपमा परिवर्तन गर्न लागिएको हो ।

ललितपुर महानगरपालिकाले यसका लागि पहलकदमी लिएको छ । महानगरपालिकाले महत्वपूर्ण सम्पदा क्षेत्र भएकाले पाटन दरबार क्षेत्रमा सवारीसाधन लैजान नदिने व्यवस्था गर्न छलफल अघि बढा्रएको प्रशाशकीय अधिकृत हरिप्रसाद दाहालले जानकारी दिए ।

यो क्षेत्र पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छ । ऐतिहासिक तथा पुरतात्विक महत्वको सम्पदा क्षेत्रमा जाने पर्यटकलाई बढ्दो सवारी चापले समस्या परेकाले स्थानीयसँग छलफल थालिएको ट्राफिक प्रहरी निरीक्षम सितारम हाछेथुले अनलाइनखबरलाई जानकारी दिए ।

‘मेयरसाहबले नै यसमा चासो राख्नु भएको छ । हामीले के गर्न सकिन्छ भनेर हेर्दैछौं,’ हाछेथुले भने,’दरबार क्षेत्र आउने पर्यटकलाई सहज वातावरण बनाइदिन पनि सवारी निषेध गनए जरुरी देखिएको छ ।’

उनले पर्यटकलाई धुँवा, हर्न र कोलाहलबाट मुक्त गर्न पनि यस्तो तयारी गरिएको बताए । सम्पदाको संरक्षण र सम्बर्द्धनमा पनि यसले सहयोग गर्ने उनको विश्वास छ ।

पाटन, मंगलबजार आसपासका क्षेत्रमा सवारी आवागमन रोकेर वाकिङ स्ट्रिट बनाउन महानगरपालिकाले पहलकदमी लिएको छ ।

तर, कहिलेबाट, कुन-कुन क्षेत्रमा कस्ता सवारीलाई निषेध गर्ने भन्ने अन्तिम निर्णय भएको छैन । वैशाख १ गतेदेखि पाटनलाई वाकिङ स्टि्रट बनाउनेबारे छलफल अघि बढेको छ ।

सवारीको व्यवस्थापनका पाटोहरुलाई हेरेर मात्रै यसबारे अन्तिम निर्णय लिइने निरीक्षक हाछेथुले जानकारी दिए ।

अनलाइन खबरबाट