नेपाल यातायात व्यवसायीको पाँचौ राष्ट्रिय महाधिवेशनमा उप–राष्ट्रपति पुन उपस्थित हुने

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनलाई माघ १७, १८ र १९ गतेका दिन  चितवनमा भव्य रुपमा सम्पन्न गर्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले महाधिवेशन सम्पन्न गर्नका लागि देशभरबाट यातायात व्यवसायिहरुको बृहत उपस्थिति रहने बताएको छ । प्रेस विज्ञप्ति जारी गर्दै संघले महाधिवेशनको प्रमुख आतिथ्यतामा सम्माननीय उप–राष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महासंघको ५औं राष्ट्रिय महाधिवेशनलाई सभ्य भव्य र व्यवस्थित बनाउन नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका का.बा. अध्यक्ष लगायत महासंघका पदाधिकारीज्यूहरु संयोजक एवम् उप–समिति सदस्य रहने गरी महाधिवेशन मुल समिति, महाधिवेशन तयारी समिति, स्वागत व्यवस्थापन समिति, सचिवालय व्यवस्थापन उप–समिति, आर्थिक व्यवस्थापन उप–समिति, महाधिवेशन व्यवस्थापन उप– समिति, स्वयंसेवक व्यवस्थापन उप–समिति, होटल व्यवस्थापन उप–समिति, भोजन व्यवजस्थापन उप–समिति, स्टेज स्वागत निर्माण उप–समिति गठन गरिएको र सो समिति र उप–समितिहरुले महाधिवेशन व्यवस्थापनमा सम्पूर्ण तयारी पुरा गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

देशभर सार्वजनिक यातायात संचालन गर्ने यातायात व्यवसायीहरुको एकमात्र केन्द्रिय छाता संगठन राष्ट्रिय निर्देशन ऐन अनुसार दर्ता रहेको छ । यस नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्धरहि देशभर रहेको करिब ३ सय वटा संघ÷समिति÷प्रा.लि. हरुले विभिन्न प्रकृतिका सडकहरुमा विभिन्न प्रकृतिका सार्वजनिक यातायातका सवारी साधनहरु बस, मिनिबस, माइक्रोबस, ट्रक, जिप, ट्याक्सी, भ्यान, पर्यटन, टिपर, ट्याक्टर लगायतका सवारी साधनहरु संचालन गर्दै आइरहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै उक्त महाधिवेशनमा विभिन्न राजनितिक दल, प्रशासनिक निकाय, विभिन्न संघ÷ संस्था लगायतलाई निमन्त्रणा गरिएको छ । देश विकासको मेरुदण्डको रुपमा रहेको सार्वजनिक यातायातको क्षेत्रमा विद्यमान समस्याहरुको स्थायी समाधानका लागि नेपाल सरकारबाट नितिगत निर्णय हुन नसकेको बताइएको छ । यो पेशा दिनदिनै धरासायी अवस्थामा पुगेको समेत उल्लेख गरिएको छ ।

निजि क्षेत्रका व्यवसायीहरुको झण्डै साडे ५ खर्ब लगानी भई विभिन्न प्रकृतिका करिब ४ लाख सार्वजनिक सवारीका साधहरुले देशभर यातायात सेवा संचालन गर्दै आएको र करिब २० लाख जनशक्तिलाई प्रत्यक्ष रुपमा स्वदेशमा नै रोजगारी प्रदान गर्दै आएको र राज्यलाई अग्रीम राजश्व बुझाई देशमा रहेको बेरोजगारीलाई समेत न्युनिकरण गर्दै आएको यातायात पेशा एवंम व्यवसाय र लगानीको उचित संरक्षणमा सरकारी चासो नै नरहेको अवस्थामा हामी निजि क्षेत्रमा यातायात सेवा संचालन गर्ने व्यवसायीहरुले यस पेशालाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि विभिन्न क्षेत्रबाट काम गर्दे आइरहेको बिज्ञप्तिमा बताएको छ ।