ओली सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा [ तस्बिरसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

काठमाडौं- नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघरदेखि बानेश्‍वरसम्‍म नाराबाजी गर्दै प्रदर्शन गरेको हो।

विद्यार्थीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्‍म भएका शुल्कवृद्धि रोक्‍नु पर्ने, देशमा भएका हत्‍या(हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्‍चनपुरकी बालिका निर्मला पन्तको हत्‍यारालाई सार्वजनकि गरी दण्डसजाय लगायतको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

बालुवाटारलगायतका सरकारी जग्गामा किर्ते गरी कब्जा गर्ने भूमाफियालाई कारबाही गर्नुपर्ने, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथिको प्रतिवन्ध फुकुवा हुनुपर्ने, नक्कली नागरिकता छानबिनका गरिनुपर्नेलगायतका माग अघि सारेर विरोध प्रदर्शन गरिएको नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले बताए ।

नेविसंघसँगै तीन वटा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, अनेरास्ववियु पाँचौं, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी यूनियन, राष्ट्रवादी विद्यार्थी संघ र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको आयोजनामा गरिएको विरोध प्रदर्शन माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो । ११ वटै विद्यार्थी संगठनहरुको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।