यादवविरुद्ध ‘पूर्वमण्डले’ बोहराको गुप्तचरी

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ९, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सचिवालयमा पूर्वमण्डले भनेर चिनिएका दीपक बोहराले आफ्ना खास मान्छेलाई राखेर मन्त्रीका सबै सूचनाहरु लिने गरेको खुलासा भएको छ ।

पूर्वमन्त्री समेत रहेका बोहराले आफू निकटका उपसचिव भवनाथ खतिवडालाई प्रयोग गरी यादवविरुद्ध गुप्तचरी गर्दै आएको मन्त्रालयमा चर्चा हुने गरेको छ ।

मन्त्रालयमा बसेर हालिमुहाली गर्दै आएका खतिवडाले उपप्रधानमन्त्री यादवको नाममा बबण्डर मच्चाउँदै आएका छन् । मन्त्री यादवका निजी सचिव खतिवडाले यादवविरुद्धका हरेक सूचनाको जानकारी राप्रपाका अध्यक्ष कमल थापालाई पनि जानकारी गराउँदै आएको स्रोत बताउँछ ।

यादवले विश्वास गरेर निजी सचिव राखेका झापा घर भएका खतिवडामाथि मन्त्रालयभित्रको सबै सूचनाहरू बोहरादेखि थापासम्म पु¥याउने गरेको आरोप छ ।आजको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

निजी सचिव खतिवडाले आफ्नी पत्नी कमला पोखरेललाई बैद्यखानामा करारमा जागिर लगाएका छन् । खतिवडाले वैद्यखाना औषधालयमा आफ्नी बहिनीलाई पनि जागिर दिलाएका छन् । बोहराले खतिवडालाई प्रयोग गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई हटाउन खाजेका थिए ।

निजी सचिव खतिवडाले मन्त्री यादवको नामको दुरुपयोग गरेर उपकुलपतिलाई हटाएपनि सर्वोच्च अदालतले थमौती गरिदिएको छ । यता, उपप्रधानमन्त्री यादवका पुत्र अमरेन्द्र यादव ‘दीपेश’ ले मन्त्रालयमा धुन्धुकारी गतिविधि गरेका छन् । दीपेश हाल जेनेभामा घुमिरहेका छन् । मन्त्री बाबुको पावर लगाएर खतिवडामार्फत दीपेशले गतिविधि गर्दै आएका छन् ।