नेकपाभित्र चर्किंयो लफडा, ओली–प्रचण्डलाई मिलाउनै कठिन !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ९, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोलिटब्यूरो गठन र केन्द्रीय नेताको कार्यविभाजनको गृहकार्यमा जुटेका नेताले अझै तयारी सकेका छैनन् ।

आन्तरिक गुटबन्दी र लफडाका कारण एकताको काम टुंग्याउन ढिलाइ भइरहेको छ ।

आन्तरिक तयारी पूरा गरेपछि सचिवालय बैठक बोलाउने र प्रस्ताव अनुमोदन गराउने तयारीमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल लागेका छन् ।

आन्तरिक तयारीका लागि अध्यक्षहरूले दैनिक छलफल गरिरहेका छन् । पोलिटब्युरो र नेताको कार्यविभाजनमा गृहकार्य नसकिएको महासचिव विष्णु पौडेलले बताए ।

गृहकार्य सकिनेबित्तिकै सचिवालय बैठक बोलाउने पनि उनले बताए । ‘सचिवालय बैठकको मिति तोकिएको छैन, अझै आन्तरिक गृहकार्यको काम भइरहेको छ । त्यो सकिनेबित्तिकै सचिवालयको बैठक बस्छ,’ महासचिव पौडेलले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई अध्यक्षबीच ‘वान टू वान’ छलफलसमेत भएको थियो । सरकारले ल्याउन लागेको बजेट, राष्ट्रिय राजनीतिलगायत विषयमा केन्द्रित रहेर छलफल भएको महासचिव पौडेलले बताए ।

सरकारले जेठ १५ मा बजेट ल्याउँदैछ । ‘सरकार बजेट निर्माणमा छ । त्यसको अन्तिम तयारी भइरहेको छ । यसमा अध्यक्षहरूले छलफल गर्नुभएको हो,’ महासचिव पौडेलले भने, ‘बजेटका अतिरिक्त राष्ट्रिय राजनीति, संगठनात्मक कार्यविभाजनलगायत विषयमा पनि छलफल भएको छ ।’

पोलिटब्यूरो गठनमै नेताले समझदारी जुटाउन सकेका छैनन् । नेताहरूले पोलिटब्यूरो गठन भएपछि देखिन सक्ने असन्तुष्टिलाई दृष्टिगत गरी प्रक्रियामा ढिलाइ गरिरहेका छन् ।

‘कार्यविभाजन पहिले गरेर पछि पोलिटब्यूरो गठन गर्ने कि पोलिटब्यूरोपछि कार्यविभाजन भन्नेमा अझै नेतामा छलफल चलिरहेको छ,’ सचिवालयका अर्का एक नेताले भने, ‘पहिले अध्यक्षले गृहकार्य सकेपछि मात्र बैठकको टुंगो लाग्छ ।’