बुद्धभूमि लुम्बिनीमा विदेशीको शालिक !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ४, २०७६

लुम्बिनी – सिद्धार्थ गौतमबुद्धको जन्मभूमि लुम्बिनीको विदेशी नागरिकको शालिक बनाइएको छ ।

विकासका लागि महत्वपूर्ण योगदान गरेका संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्तको सम्झनालाई चिरस्थायी बनाउन लुम्बिनीमा शालिक निर्माण गरिएको छ ।

सन् १८६७ अप्रिल २३ मा नेपाल भ्रमण गरेका पूर्वमहासचिव उले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति क्षेत्रका साथै लुम्बिनीको विकासका लागि संसारभरका बुद्धिस्ट तथा गैरबुद्धिस्टहरूलाई उनले गरेको योगदानको सम्झनामा मायादेवी मन्दिर नजिकै उनको शालिक निर्माण गर्नुका साथै शुक्रबार एक कार्यक्रमको आयोजना गरी शालिक अनावरण गरिएको थियो । जापानिज नागरिक डा. तोकोसिन कासाईको अगुवाइमा शालिक निर्माण भएको थियो ।

शालिक अनावरण गर्न उनका नाति तथा विश्व विख्यात शान्तिदूत डां थान्त मिन्ट उ लुम्बिनी आएका थिए । जतिखेर भियतनाम युद्ध र विश्वमा शीतयुद्ध चलिरहेको बेला उनले नेपाल भ्रमण गरेर विश्वमा शान्ति फैलाउन कसरी सकिन्छ भन्दै लुम्बिनीको भ्रमण गरेर शान्तिका उपायहरू तय गरेको जानकारी पूर्वमहासचिव उका नाति डा. थान्तले जानकारी गराएका थिए ।

नेपाल भ्रमणपछि उनले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलोलाई विकसित गर्ने र यसलाई विश्वसामु चिनाउन गरेको पहल संसारभरका बुद्धिस्टका लागि प्रेरणासमेत भएको डा. थान्तले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यंगुन हेरिटेज ट्रस्टका अध्यक्षसमेत रहेका डा. हजुरबुबाका कारण आफू पनि लुम्बिनीसँग जोडिन पाएकोमा आफूले गौरव महसुस गरेको बताउँदै उनले लुम्बिनीको विकासका लागि लामो समयदेखि योगदान गर्दै आएका जापानिज नागरिक लुम्बिनी होटल कासाईका अध्यक्ष डा. तोकुसिन कासाईको पहलमा शालिक निर्माण गरिनु आफू र म्यानमारका जनताका लागि गौरव भएको बताए ।

संयुक्त राष्ट्रसंघको विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरीसकेका डा. थान्तले लुम्बिनीको विकासका लागि आफूले सक्दो योगदान गर्ने बताए ।

सन् १९७० मा उनले लुम्बिनीको विकासका लागि इन्टरनेसनल कमिटी फर द डेभलपमेन्ट लुम्बिनी गठन गरी पूर्वमहासचिव उले एसियाका विभिन्न १६ वटा मुलुकलाई लुम्बिनीको विकासमा सहयोग पुर्‍याउन एउटै मञ्चमा उभ्याएका थिए । उनकै पहलमा सन् १९७२ मा लुम्बिनीका विकासका लागि गुरुयोजना बनाउन शुरू गरिएको थियो ।

गुरुयोजना सन् १९७८ मा जापानिज नागरिक कन्जो टाँगेले पूरा गरेका थिए । लुम्बिनीको विकासमा उ थान्तको भूमिका महत्वपूर्ण रहेको प्रदेश नम्बर ५ का पर्यटनमन्त्री लीला गिरीले बताए ।

लुम्बिनीलाई विश्वको अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन अहिले भइरहेको प्रयासको जस पूर्वमहासचिव उ थान्तलाई जाने पनि मन्त्री गिरीले बताउनुभयो ।

अहिलेको विश्वमा बुद्धका सन्देशहरु समसामयिक हुँदै गएकाले लुम्बिनीको विकास र बुद्ध शिक्षालाई विश्वव्यापी बनाउँदै अशान्त बन्दै गएको विश्वलाई शान्तिको मार्गमा ल्याउनुपर्ने शालिक अनवरण कार्यक्रममा सहभागीले बताएका थिए ।

विश्वभर रहेका १ अर्ब ५० करोड बुद्धिस्टबाहेक अन्य धर्मावलम्बीलाई समेत लुम्बिनीको महत्वका बारेमा जानकारी गराउनुपर्ने कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी सरोकारवालाले बताएका थिए ।

राष्ट्र संघका पूर्वमहासचिव उ थान्तको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न र संयुक्त राष्ट्रसंघमा लुम्बिनी विकासका लागि समिति नै गठन भएको र लुम्बिनीले अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएकाले उनको योगदानलाई चिरस्थायी बनाउन पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

लुम्विनी विकास कोषका प्रमुख प्रशासक ज्ञानिन राईले लुम्बिनीको विकासमा पूर्वमहासचिव उ थान्तको योगदानको जति चर्चा गरे पनि कम हुने बताउँदै लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति क्षेत्र बनाउने उनको परिकल्पनालाई साकार पार्दै लुम्बिनीलाई बुद्धिस्ट पर्यकटहरूलाई आकर्षित पार्न बुद्धशिक्षालाई व्यापक बनाउनुपर्ने बताए ।