ललितानिवासको सरकारी जग्गा ४१७ कित्तामा टुक्रा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

http://www.nepatop.com.np/

वैशाख –व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ ।

डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोज्दै छ । अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ र सरकारसँग रहेको ८३ कित्ता जग्गा भेटिएको छ । मालपोतले भेटिएको जग्गा रोक्का गरेको छ भने थप जग्गा खोज्दै छ । व्यक्तिका नाममा सारिएका जग्गा रोक्का गर्ने क्रममा बैंकमा धितो राखिएको विवरण पनि खुलेको हो । ‘रोक्का गर्ने क्रममा अधिकांश जग्गा बैंकमा धितो राखेर पैसा निकालेको भेटिएको छ,’ मालपोत स्रोतले भन्यो, ‘यसबारे कार्यालयले मन्त्रालयलाई जानकारी गराइसकेको छ ।’

भूमाफिया आफैँले र उनीहरुमार्फत जग्गा किनेका जग्गाधनीले विभिन्न वाणिज्य बैंकबाट ऋण लिएका छन् । ठूलो रकम इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक र एसबिआई बैंकबाट निकालिएको मालपोत स्रोतले जनाएको छ ।सरकारी जग्गा धरौटी राखेर व्यक्तिले पैसा लिएको विषयमा नेपाल राष्ट्र बैंक बेखबर छ । राष्ट्र बैंकले कति जग्गा धरौटीमा राखेर कति रकम निकालिएको छ भन्ने जानकारी नभएको बताएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले अवैध जग्गा धितो राखेर ठूलो रकम ऋण दिइएको भए त्यसले वित्तीय स्थायित्वमै समस्या ल्याउने बताए ।
नयाँपत्रिका दैनिकले खबर छापेको छ ।

मालपोतद्वारा ४१७ कित्ता जग्गा रोक्का

डिल्लीबजार मालपोत कार्यालयले बालुवाटारको चार सय १७ कित्ता जग्गा रोक्का गरेको छ । त्यसमध्ये अवैध रुपमा व्यक्तिको नाममा लगिएको जग्गा तीन सय ३४ कित्ता छ । मालपोतले सरकारको नाममा रहेको ८३ कित्ता पनि रोक्का गरेको छ । व्यक्तिको नाममा लगिएको तीन सय ३४ कित्ता जग्गाको जम्मा क्षेत्रफल ९९ रोपनी छ । बालुवाटारमा व्यक्तिको नाममा लगिएका अन्य जग्गाको खोजी भइरहेको पनि मालपोत कार्यालयले जनाएको छ ।

माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले १३ वैशाख ०६७ मा प्रधानमन्त्रीनिवास विस्तार गर्दा त्यहाँ परेको जग्गाका धनीलाई सरकारी जग्गाबाट शोधभर्ना गर्ने निर्णयबमोजिम यो जग्गा व्यक्तिको नाममा गएको थियो । यसलाई सरकारले ‘दूषित निर्णय’को संज्ञा दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा जाने गरी माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको दूषित निर्णय खारेज गर्न’ मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ ।

मन्त्रिपरिषद्ले त्यो निर्णय खारेज गरेसँगै थप कारबाही अघि बढाउन सहज हुने सो प्रस्तावमा उल्लेख छ । आयोग गठनको प्रक्रिया अघि बढ्यो भूमि व्यवस्था मन्त्रालयले देशभरि विभिन्न सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा गएकोबारे अध्ययन गर्न शक्तिशाली आयोग गठन गर्ने भएको छ । विभिन्न ठाउँमा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको समाचार सार्वजनिक भइरहेका वेला मन्त्रालयले आयोग गठनको प्रक्रिया अघि बढाएको हो ।

विष्णु पौडेलको जग्गा पनि रोक्का

मालपोत कार्यालय डिल्लीबजारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा रहेको जग्गा पनि रोक्का राखेको छ । उनको नाममा दुई कित्ता जग्गा भेटिएको छ । पौडेलको नाममा कित्ता नं। ३१५ मा सात आना दुई पैसा तीन दाम क्षेत्रफल र कित्ता नं। ३०९ मा एक पैसा ०।७० दाम क्षेत्रफलको जग्गा भेटिएको छ ।

शोभाकान्त ढकालसँग जग्गा

बालुवाटार जग्गा प्रकरणमा भूमाफियाका रूपमा चर्चा गरिएका पात्र हुन् शोभाकान्त ढकाल । उनी र उनकी पत्नी उमाकुमारी ढकालको संयुक्त नाममा सिट नं। १०२१०२५१४ मा कित्ता नं ८१, ११३, ८६, ७७ र ७९ मा गरी एक रोपनी ६ आना दुई दाम जग्गा छ । त्यस्तै, शोभाकान्त ढकालको नाममा मात्र विभिन्न तीनवटा कित्ता जग्गा छ । उनको कित्ता नं। ४०, १२ र ३७ मा सात आना ३।४८ दाम क्षेत्रफलमा फैलिएको घडेरी छ । त्यसबाहेक रूपेशकुमार सुवेदी र सरोज ढकालको संयुक्त नाममा दुई रोपनी आठ आना, एक पैसा २।९३ दाम क्षेत्रफलको जग्गा छ । मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालको नाममा कित्ता नं। ८३ मा १३ आना तीन पैसा क्षेत्रफलमा घडेरी छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी भन्छन्–त्यसरी ऋण प्रवाह भएको भए वित्तीय स्थायित्वमा समस्या आउन सक्छ,बालुवाटारको विवादास्पद जग्गा धितो राखेर बैंकहरूबाट ठूलो रकम ऋण लिइएको छ भन्ने विषय सुन्नमा आएको छ । तर, के–कति धितोमा राखिएको छ, बैंकले कति ऋण दिएका छन् भन्ने औपचारिक जानकारी आएको छैन । हामीले पनि त्यस विषयमा अध्ययन, विश्लेषण र रिपोर्टिङ लिने काम गर्न पाएका छैनौँ । तर, सो जग्गा धितोमा राखेर बैंकहरूबाट ठूलो मात्रामा ऋण प्रवाह भएको रहेछ भने वित्तीय स्थायित्वमा नै समस्या आउन सक्छ । त्यसैले राष्ट्र बैंकले त्यस विषयमा गम्भीर अध्ययन गर्नेछ ।

शोभाकान्त ढकाल र उमाकुमारी ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदी बालुवाटारका जग्गाधनी मात्र होइनन्, त्यही परिसरमा खडा गरिएको पशुपति टिकिन्छा गुठीका मोही पनि बनेका छन्

मालपोत कार्यालय डिल्लीबजारले अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ कित्ता ९९९ रोपनी० र सरकारको नाममा रहेको ८३ कित्ता (३० रोपनी) जग्गाको विवरण पत्ता लगाएको छ ।