कर्णेलका घरमा सिपाहीको लास ! घटना दबाउन खतरनाक खेल

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाली सेनाको कर्णेल सुशीलकुमार थापाको इमाडोलस्थित निजी निवासमा घरेलु कामदार बनाई खटाइएका एक सिपाही मृत फेला परेका छन् । उनी झुण्डिएको अवस्थामा शनिबार राती फेला परेका थिए ।

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, उपप्रधानमन्त्री, प्रधानसेनापति, मन्त्री लगायत उच्च पदस्थ व्यक्तिको सुरक्षाको जिम्मा पाउने अति विशिष्ट व्यक्ति सेवा निर्देशनालयका प्रमुख कर्णेल थापाको घरमा सिपाही प्रदिप तामाङको शव पासो लागेको अवस्थामा फेला परेको सातदोबाटो प्रहरीले पुष्टि गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले भने,‘सोमबार पीडितका तर्फबाट जाहेरी आएको छ । जाहेरीमा हत्या वा अन्य विषय भनिएको छैन ।’
तर शुक्रबार रातीसम्म आफ्नी पत्नीसँग कुराकानी गरेका सिपाही तामाङले कर्णेल थापाको घरमा आत्महत्या गर्नुको कारण भने प्रहरीले खोजेको छैन ।

मानौ, यो आत्महत्या नै हो तर ड्युटीमा रहेका जवानले कर्णेलको घरमा झुन्डिनुपर्ने अवस्था कसरी आयो, खोज्नुपर्दैन ? जनप्रहारको प्रश्नमा डिएसपी मिश्र भन्छन्,‘धेरै कुरा पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ । तर, यो कोणबाट पनि खोजीनीति हुनुपर्ने हो । अवस्थाअनुसार हामी खोजी गर्नेछौं ।’

तामाङको शव प्रहरीको निगरानीमा झुण्डिएको अवस्थामा नै फेला पारी मुचुल्का उठाएको बताएका उनले मृतक परिवारलाई जानकारी दिन र भक्तपुरको घर पुग्नका लागि भने कर्णेल थापासहितका सैन्यहरूले सहयोग गरेको बताए । आजको जनप्रहार साप्ताहिकमा खबर छापिएको छ।

तामाङको शव पोष्टमार्टमका लागि पाटन अस्पताल लखनखेलमा राखिएको छ । रिपोर्ट आउन केही दिन लाग्नेछ ।  मृत तामाङले पत्नी शान्ति तामाङको मोबाइलमा शुक्रबार राती १० बजेर ११ मिनेटमै पठाएको ‘मलाई मारिदियो ल’ भन्ने सन्देशबारे अनुसन्धान गर्नुभयो ? जनप्रहारको प्रश्नमा डिएसपी मिश्र भन्छन्,‘त्यसबारेमा मैले पनि मिडियामा सुनेको हुँ, अनुसन्धान हुन पाएको छैन ।’

कर्णेल थापाले एक डिआइजीको सहयोगमा यो मुद्दालाई साम्य पार्न खोजेको स्रोतको दाबी छ । त्यसैअनुसार नै प्रहरीले मृत्यु प्रकरणका सम्पूर्ण सूचनाबारे यकिन जानकारी नदिने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार कर्णेल थापा उनकी श्रीमती र एक छोरी उक्त घरमा बस्दै आएका थिए । सोही दिन बेलुका कर्णेल थापा र उनकी श्रीमती पार्टीबाट फर्किएका थिए । डेढ वर्षदेखि कर्णेल थापाको घरमा भक्तपुर गुन्डु स्थायी घर भएका मृतक तामाङ कार्यरत थिए ।

सेनाका अधिकारीको घरमा सरकारी काम गरिरहेका सिपाहीलाई घरेलु कामदारका रूपमा समान्त शैलीमा राख्ने गरिएको छ । यहाँसम्मकी सैनिक हाकिमका पत्नीका कपडा धुन, खाना पकाउन, तरकारी ल्याउन पनि त्यस्ता सिपाहीलाई काम लगाउने गरिएको छ ।

कर्णेल थापा प्रधानसेनापति पूर्णचन्द्र थापा नजिक रहेका कारण यो मुद्दा मिलाउनका लागि मृतक परिवारलाई जंगी अड्डासम्म पुराइएको स्रोतको दाबी छ ।