सुदूरपश्चिम नेकपामा फेरि लफडा ! : माइन्युट लुकाउनुको रहस्य के हो ?

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख १६, २०७६

http://www.nepatop.com.np/

कैलाली – सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा तत्कालीन एमालेलाई ५ र माओवादीलाई ४ जिल्लामा नेतृत्व प्राप्त भएको छ । तत्कालीन एमालेबाट डोटीमा चक्रबहादुर मल्ल, बैतडीमा सुरेन्द्र पाल, बाजुरामा कालीबहादुर शाही, अछाममा शेरबहादुर कुँवर र कैलालीमा रतन थापा अध्यक्ष भएका छन् । सुदूरपश्चिमको निर्विकल्प नेता दाबी गर्दै आएका नेकपाका प्रदेश ईन्चार्ज भीमबहादुर रावलले तत्कालीन एमालेका तर्फबाट प्राप्त हुने पाँचै जिल्लामा आफू निकटलाई अध्यक्ष बनाउने योजना बनाएका थिए ।

त्यसै अनुसार पहिलो मापदण्ड अनुसार जिल्लाबाट सिफारिस भएको थियो । तर, नेकपाको सचिवालयले पहिलो मापदण्ड खारेज गरेर दोश्रो मापदण्ड अनुसार जिल्लाको नेतृत्व चयन गरेपछि सुदुरपश्चिम प्रदेशका ईन्चार्ज भीमबहादुर रावललाई रुनु न हाँस्नुको अवस्था भएको खबर छ ।

तत्कालीन एमालेका भागमा परेका पाँच जिल्ला मध्ये रावल पक्षले अछाममा मात्र नेतृत्व पाएको छ । नेकपा अछाम अध्यक्ष शेरबहादुर कुवर रावलका विश्वासिला पात्र हुन । रावल २०५१ सालमा पर्यटन राज्यमन्त्री हुँदा कुँवर पीए थिए । पीए बने देखि अछामको राजनीतिमा निरन्तर जमेका कुवरले रावललाई मनदेखि नै साथ दिंदै आएका छन ।

रावलको जोडबलले कुवर २०६४ मा संविधान सभा सदस्य भए भने हाल राष्ट्रिय सभा सदस्य छन । उसो त भीमबहादुर रावलका हालसम्म आधा दर्जन बढी पीए बने होलान तर दुई जना पीएले मात्र उच्च ओहोदा प्राप्त गर्न सफल भए । कुँवर पछि झपटबहादुर रावल पनि भीमबहादुर रावलका कुनै बेला पीए थिए । झपट हाल कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य छन ।

भीमबहादुर रावलले गत निर्वाचनमा स्थानीय र प्रदेशमा आपूm निकटलाई टिकट दिएर वर्चश्व बनाएका थिए । प्रदेश सरकारमा पनि तत्कालीन एमालेबाट उनी निकटनै मन्त्री छन । तर, पार्टी एकता प्रक्रियामा सुदूरपश्चिममा रावलको पल्ला एकदमै हलुको देखिदा उनी र उनका समर्थकहरूले पार्टीमा उपद्रो मच्चाउदै आएको सुदूरपश्चिम नेकपाका नेताहरू बताउछन । यसको जवलन्त उदाहरण १३ बैशाख २०७६ तत्कालीन एमालेको जिल्ला पार्टी कार्यालय धनगढीमा देखिएको छ ।

हालै चयन भएका नेकपाका कैलाली अध्यक्ष रतन थापाले तत्कालीन कैलाली एमालेका कार्यालय सचिव विमल जोशीलाई निर्णय पुस्तिका माग्दा जोशीले नदिएपछि अध्यक्ष थापाले आफै दराज खोलेर माइन्यूट झिकेको विषय चर्चामा आएको छ ।

विमल जोशी तत्कालीन एमालेका जिल्ला कमिटी सदस्य हुन् । यौन मामिला, असुली, भ्रष्टाचारलगायतका दर्जर्नाै काण्डमा मन्त्री र पार्टीको साधारण सदस्यता समेतबाट अनिश्चितकालसम्मका लागि बर्खास्त परेका तत्कालीन एमालेका कैलाली अध्यक्ष दीर्घ सोडारीका प्रिय कार्यकर्ता हुन् । नेकपाको साधारण सदस्य समेत नरेहका सोडारी विशेषगरी भीमबहादुर र झपटबहादुर रावल धनगढी एअरपोर्टमा आउने वित्तिकै खाँदा र फूलमाला लिएर चाकडी गर्न जाने गरेको धनगढीमा चर्चाको विषय बन्दै आएको छ ।

यी दुई रावलकै सहयोगमा कारबाही फुकुवा हुने कुरामा उनी विश्वस्त रहेको नेकपाका नेता कार्यकर्ताहरू बताउने गर्छन् । दर्जनौ अपराधजन्य काण्डहरू छताछुल्ल भएर कारबाही भोगिरहेको अवस्थामा पनि सोडारी कुनै लाजशरम नमानेर सार्वजनिक कार्यक्रमहरूमा देखिरहन्छन् । जति सक्दो चाँडो पार्टीको कारबाही फुकुवा गराएर पुरानो दबदबा फर्काउने योजनामा लागेका सोडारीको निर्देशनमा नै विमल जोशीले निर्णय पुस्तिका नदिएर अध्यक्षको अपमान गर्ने प्रयास गरेको नेता कार्यकर्ताहरूको भनाई छ ।

अध्यक्ष रतन थापालाई खुलेर असहयोग गर्नु भन्ने निर्देशन दीर्घ सोडारीमार्फत भीमबहादुर रावलले दिएकोले जोशीले माइन्यूट नदिएको नेकपा कैलाली स्रोतले भन्यो । यो घटना २०७६ बैशाख १३ गतेको हो ।

नेकपा कैलालीका अधिकांश नेता कार्यकर्ताहरूले यस घटनालाई सुनियोजित भनेका छन । एकजना नेताले भने ुजिल्ला कमिटीलाई पूर्णता दिनका लागि तत्कालीन एमालेका जिल्ला सदस्यहरू को को थिए भनेर प्रदेश कमिटीमा पठाउनु पर्ने तयारीका क्रममा माइन्यूटको आवश्यकता थियो । तत्कालीन कार्यालय सचिव जोशीले माइन्यूट दिन अस्वीकार गरेपछि अध्यक्ष रतन थापाले दराज आफै खोलेर माइन्यूट झिकेको ती जिल्ला सदस्यले बताए ।

अध्यक्ष थापा तत्कालीन एमाले कैलालीमा उपाध्यक्ष थिए । तत्कालीन अध्यक्ष दीर्घ सोडारी बर्खास्तमा परेपछि थापा त्यसैपनि कार्यवाहक अध्यक्ष थिए । कुनैबेला भीमबहादुर रावल निकट मानिदै आएका रतन थापाले पछिल्लो समयमा आएर रावलको साथ छाडेको बताइन्छ । यसरी साथ छाडेपछि रावलहरूले थापाको खेदो खन्दै आएका छन ।

चालीसको दशकको अन्त्य तिरबाट तत्कालीन कैलाली एमालेमा सक्रिय रहँदै आएका थापा पुराना तथा लोकप्रिय नेताका रुपमा चिनिन्छन । २०४९÷२०५० साल तिर कैलालीमा एमालेको संगठन बिस्तारमा थापाको महत्वपूर्ण भूमिका रहेको नेता तथा कार्यकर्ता पंक्तिमा चर्चा हुने गर्दछ । प्रदेश सभा सदस्य समेत रहेका थापालाई प्रदेश सरकारमा मन्त्री नबनाई अत्यन्त कनिष्टहरूलाई मन्त्री बनाएकोले भीमबहादुर रावल र उनका भित्रियाहरूको आलोचना हुँदै आएको छ ।

आफ्ना झोला बोक्नेलाई मात्रै अवसर दिने नबोक्नेलाई निरन्तर लखेटिरहने रावल प्रवृत्तिको चेपुवामा कैलाली अध्यक्ष रतन थापा पनि परेको प्रदेश कमिटीका एकजना सदस्यले बताए । कार्यालय प्रवेश गर्ने वितिकै विमल जोशी जस्ता रावल भित्र्यिाहरूले अपमान गर्ने कुरा नौलो होइन ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपाका शीर्ष नेताहरू प्रदेश राजधानी धनगढी आउने कार्यक्रमको तयारीकाक्रममा २०७५ माघ २७ गते भीमबहादुर रावल र लेखराज भट्टलगायतका नेताहरू धनगढी विमानस्थल आउँदा रावल पक्षधर कार्यकर्ताहरूले रावल र भट्टलाई खाँदा र फूलमालाले स्वागत गरेको र प्रदेश अध्यक्ष कर्ण थापालाई भने अपमान गरेको घटना निकै चर्चाको विषय बनेको थियो ।

त्यतिबेला रावल पक्षका कार्यकर्ताहरूले प्रदेश अध्यक्ष कर्ण थापालाई कार्यकर्ताहरूले बहिस्कार गरे भनेर सामाजिक सञ्जालमा फोटो हालेका थिए । मन नमिल्ने नेता तथा कार्यकर्ताहरूलाई खेद्ने काम रावल र रावलका कार्यकर्ताहरूले गर्दै आएका छन । यसेको पछिल्लो शिकार बनेका छन् कैलाली अध्यक्ष रतन थापा ।

रावलल र रावलका पक्षधरहरू सुदूरपश्चिम नेकपामा आन्तरिक किचलो चर्काइ राख्ने मानसिकतामा रहेको विभिन्न घटनाक्रमले देखाइरहेको नेकपाका नेता तथा कार्यकर्ताहरू बताउदै आएका छन । (साँघु साप्ताहिक, बैशाख १६)