कम्युनिस्ट पार्टीमा पूर्वएमाले हावी, प्रचण्डले भाईका लागि पार्टी नै सुम्पेको आरोप

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज ६, २०७५

काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्वएमाले पक्ष हावी भएको छ ।

पूर्व माओवादीबाट पार्टी अध्यक्ष बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भाई नारायण दाहाललाई प्रदेश नम्बर ३ को अध्यक्ष बनाउन अन्य ठाउँमा पद गुमाएर भएपनि सहमति गरेको आरोप लागेको छ । ७ प्रदेशमध्ये पूर्व माओवादीले एउटा कर्णाली प्रदेशमा मात्रै इन्चार्ज पाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् ।

नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाउँदा मापदण्ड मिचिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले १२–१२ र माधवकुमार नेपाल पक्षले ४ पदाधिकारी पाएका छन् । नेकपाको नेतृत्व भागबन्डाका आधारमा चार महिनापछि टुंगो लागेको हो ।

सातवटै प्रदेशमध्ये ओली र नेपाल पक्षका ३–३ जना इन्चार्ज छन् भने दाहाल पक्षका एक जना मात्रै छन् । यस हिसाबमा प्रदेशमा पूर्वएमाले हावी भएको छ । सात सहइन्चार्जमा ओलीले २, दाहालले ४ र नेपाल पक्षले १ पाएका छन् । सात अध्यक्षमा ओलीले ३ र दाहाल पक्षले ४ प्रदेश पाएको हो ।

सचिवमा ओली पक्षका ४ र दाहाल पक्षका ३ छन् । ओली पक्षले प्रदेश २, गण्डकी र ५ को इन्चार्ज पाएको छ । नेपाल पक्षले प्रदेश १, ३ र ७ मा इन्चार्जको जिम्मेवारी पाएको छ । गण्डकी प्रदेशमा दाहाल पक्षले इन्चार्ज पाएको छ । प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा नेपाल पक्षले चारमध्ये कुनै नेतृत्व पाएको छैन ।

प्रदेश १ को इन्चार्जमा भीम आचार्य (नेपाल पक्ष), सहइन्चार्जमा साबित्रीकुमार काफ्ले (दाहाल पक्ष), अध्यक्षमा देवराज घिमिरे (ओेली पक्ष) र सचिवमा सुरेशकुमार राई (दाहाल पक्ष) छन् ।

प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल (ओेली पक्ष), सहइन्चार्जमा विश्वनाथ साह (दाहाल पक्ष), अध्यक्षमा प्रभु साह (दाहाल पक्ष) र सचिवमा सुमन प्याकुरेल (ओेली पक्ष)ले नेतृत्व पाएका छन् ।

प्रदेश ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य (नेपाल पक्ष), सहइन्चार्जमा हितबहादुर तमाङ (दाहाल पक्ष), अध्यक्षमा नारायण दाहाल (दाहालका भाइ) र सचिवमा आनन्द पोख्रेल (ओेली पक्ष) रहेका छन् ।

गण्डकी प्रदेशको इन्चार्ज पृथ्वीसुब्बा गुरुङ (ओली पक्ष), सहइन्चार्ज खगराज अधिकारी (ओेली पक्ष), अध्यक्ष हितराज पाण्डे (दाहाल पक्ष) र सचिव गोविन्द नेपाली (ओली पक्ष)ले पाए ।

प्रदेश ५ को इन्चार्ज शंकर पोख्रेल (ओेली पक्ष), सहइन्चार्जमा दलबहादुर राना (नेपाल पक्ष), अध्यक्षमा ओनसरी घर्ती (दाहाल पक्ष) र सचिवमा जगप्रसाद शर्मा (दाहाल पक्ष) छन् ।

यसैगरी, कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मा (दाहाल पक्ष), सहइन्चार्जमा यमलाल कँडेल (ओली पक्ष), अध्यक्षमा गोरखबहादुर बोगटी (ओली पक्ष) र सचिवमा मायाप्रसाद शर्मा (दाहाल पक्ष) छन् ।

प्रदेश ७ को इन्चार्जमा भीम रावल (नेपाल पक्ष), सहइन्चार्जमा लक्ष्मणदत्त जोशी (दाहाल पक्ष), अध्यक्षमा कर्ण थापा (ओेली पक्ष) र सचिवमा नेप चौधरी (ओली पक्ष) छन् । प्रधानमन्त्री ओली आज संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुपूर्व नै प्रदेश कमिटीको टुंगो लगाइएको हो ।