काठमाडौंमा जताततै भारतीय सुरक्षाकर्मी, नेपाली सुरक्षाकर्मीको अपमान !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, भदौ ११, २०७५

काठमाडौं – गत बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका नेपालमा भारतीय सुरक्षाकर्मी हतियारसहित आएका भनेर विरोध हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट सरकारले यसपालि समेत भारतीय सुरक्षाकर्मीलाई निर्वाध प्रवेश दिएको छ ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । भारतीय प्रधामन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारालाई जानकारी गराउने छ ।

मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रयोग गर्नको लागि भारतीय वायुसेनाको विमानबाट शनिबार दिउँसो ३ वटा गाडीसहित १३ जनाको टोली नेपाल आइपुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सो सुरक्षा टोलीले नेपालको सुरक्षाकर्मीहरुसँग समन्वय सुरु गरिसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

मोदीसँगै कति सदस्यीय सुरक्षाकर्मी आउँछन् भन्ने बारेमा भने अहिलेसम्म नेपाल सरकारलाई जानकारी दिइएको छैन । ‘सामान्य प्रक्रिया हो सुरक्षा समन्वयका लागि मात्रै आएका हुन् । सबै पाहुनाको सुरक्षा जिम्मेवारी आयोजक राष्ट्रकै भएकाले उनीहरूको भूमिका समन्वयकारी मात्रै हुनेछ,’ सुरक्षा स्रोतले भन्यो ।

बिमस्टेकको सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको छ । भदौ १२ बाट सो सम्मेलनका लागि पाहुना आउने कार्यक्रम छ ।

विश्वका विभिन्न ठाउँमा नेपाली सुरक्षाकर्मीले सफल सुरक्षा दिइरहेको बेला नेपालमै हुने कार्यक्रममा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गर्नुलाई नेपालीको अपमानका रुपमा हेर्ने गरिएको छ ।