बुद्धका नाममा आफ्नै प्रचार

नेत्र आचार्य प्रकाशित : शनिबार, फाल्गुन २६, २०७४

सिर्फ हंगामा खडा करना मेरा मकसद नहीं

सारी कोशिश है कि ये सूरत बदलनी चाहिए।

– दुष्यन्तकुमार

व्यक्ति, वस्तु या घटनाले समान फ्रिक्वेन्सीमा रहने मानिसलाई प्रभावित गर्छन्। उच्चतर फ्रिक्वेन्सीमा बाँच्न थाल्ने हो भने उल्लिखित कुनै कुराले असर गर्दैनन्। यद्यपि यही समाजमा बाँचेर यही समाजका घटनाक्रमबाट अप्रभावित रहन कतै मुस्किल हुँदो रहेछ। गत शनिबार टुँडिखेलमा आयोजित गौतम बुद्धसम्बन्धी विशाल प्रदर्शनी र त्यसमाथिका प्रतिक्रियाले अनिच्छुक हुँदाहुँदै पनि अनायासै छुन आइपुगे। सो प्रदर्शनीको समीक्षा गर्नु र रचनात्मक पक्ष सुझाउनु सम्बन्धित सबैका लागि हितकर हुने देखिन्छ। बुद्धका नाममा जे जति आवाज र प्रचारबाजी गरियो, त्यो दृश्यले झट्ट दुष्यन्तकुमारको माथिको शायरी याद गराउँछ।

नेत्र आचार्य

नेत्र आचार्य

प्रदर्शनीको भावभंगी हेर्दा आयोजकहरूको उद्देश्य हंगामा खडा गर्नु थिएन, बुद्ध शिक्षाको महत्ता सम्बन्धमा चेतना जगाउनु थियो भनेर विश्वस्त हुन मुस्किल थियो। यद्यपि मित्रस्य चक्षुषा समीक्ष्यामहे अर्थात् मित्रको आँखाले हेरौं भन्ने सुक्तिलाई पछ्याउँदै यो आलेखमा सो प्रदर्शनीको सार्थकता के हुन सक्थ्यो भन्ने विषयमा चर्चा गरिनेछ।

बुद्धको देशमा बुद्धका शिक्षाप्रति जागरण पैदा गर्न विशाल प्रदर्शनी हुनु आफैंमा प्रशंसनीय विषय हो। कार्यक्रम सफल बनाउन आयोजकहरूले निश्चय नै धेरै समय र ऊर्जा लगाएका थिए। आयोजना सफल भएको पनि देखियो। तर यो सफलताले आयोजकबाहेक अरू कसलाई लाभान्वित बनायो भन्ने सवाल महत्वपूर्ण बनेको छ। आयोजकहरूले केही संवेदनशील पक्षमा ध्यान पुर्‍याउन सकेनन्। ती पक्ष औंल्याउनु आवश्यक छ, ताकि भविष्यमा यस्तै कार्यक्रम गर्दा सुविचारित ढंगले सम्पन्न गर्न मद्दत पुगोस्।

बुद्धको जन्मभूमि नेपाल भएको तथ्य र बुद्धको शिक्षा धम्मपद गरिमामय विषय हुन्। महत्वका हिसाबले यी विषय संवेदनशील हुन्। राम्ररी स्थापित भइसकेको तथ्यलाई फेरि पुष्टि गर्न खोज्नु युक्तिसंगत हुँदैन। कतिपय अवस्थामा उही कुरालाई बारम्बार दोहोर्‍याउनु हानिकारक हुन सक्छ। संस्कृत साहित्यमा यसलाई पुनरुक्ति दोष भनिन्छ। यही सन्दर्भमा कुनै कविले लेखेका छन् :

कृतस्य करणं नास्ति मृतस्य मरणं नही।

पिष्टस्य पेषणं नास्ति द्वितीये त्रितयं नही।

अर्थात्, गरिसकेको काम फेरि गरिँदैन, मरिसकेको मानिस फेरि मर्दैन र पिसिएको पिठो फेरि पिसिँदैन। गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य दशकौं अघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भइसकेको विषय हो। यो स्थापित तथ्यलाई फेरि प्रमाणित गर्न खोज्नु अनर्थकारी काम हो। यो पुनरुक्ति दोष हो र यस्तो कार्यले सम्बन्धित विषयमा अझै केही आशंका बाँकी रहेको या अझै विश्वस्त भइनसकेको अवस्था इंगित गर्छ। बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यको गरिमा चेतनाको अलि माथिल्लो स्तरमा अनुभूति गर्न सकिन्छ, जुन स्टन्टबाजीमा विश्वास गर्ने मानसिकताले बुझ्न समेत सकिँदैन।

बुद्धको जन्मथलो

जनरल खड्गशमशेर सिकार खेल्न जाँदा पहिलोपटक अशोक स्तम्भ देखेका थिए। सन् १८९६ मा जर्मन पुरातŒवविद् डा. एन्टोन फुहररको सहयोगमा अशोक स्तम्भ पहिचान गरियो र त्यस स्तम्भमा प्राचीन लिपिमा ‘हिद बुद्ध जातेति लुम्बिनी ग्रामे’ भन्ने पदावली लेखिएको पाइएपछि बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने सुनिश्चित भइसकेको हो। सम्राट् अशोकले राखिछोडेको बुद्ध जन्मभूमि मार्कर स्टोन सन् १९९२–१९९५ को अवधिमा फेला परेको हो। बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार मायादेवीले नवजात बुद्धलाई पुष्करिणी पोखरीमा नुहाइदिएको प्रसंग आउँछ। त्यो पोखरी, मायादेवी मन्दिर, स्तूपाहरू, बुद्ध जन्म स्मारक मूर्ति, बुद्ध जन्म स्मारक शीला, तत्सदृश आशयका अनगिन्ती कलाकृति र लुम्बिनी गाउँका भग्नावशेषहरू यथेष्ट पुरातात्विक प्रमाण हुन्।

चौथो शताब्दीदेखि सातौं शताब्दीसम्म लुम्बिनी भ्रमण गरेका विभिन्न चिनियाँ भिक्षु एवं यात्रीहरूको विवरणअनुसार पनि लुम्बिनी बुद्धको जन्मभूमि हो भनेर स्थापित भइसकेको छ। तिब्बत, चीन, बर्मा, श्रीलंकाजस्ता जीवित बौद्ध परम्परा भएका मुलुकहरूमा लुम्बिनीलाई बुद्धको जन्मभूमिका रूपमा श्रद्धा एवं वन्दना गर्ने प्रचलन अद्यापि छ।

सन् १९९७ मा अन्तर्राष्ट्रिय संस्था युनेस्कोले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। यी यावत् तथ्य, प्रमाण र ऐतिहासिक घटनाले सशक्त रूपले स्थापित तथ्यलाई मास प्रदर्शनी गरेर अझ उजागर गर्न खोज्नु भनेको सूर्यको सामु दियो बाल्नुजस्तै हो।

यस्ता गतिविधि बुद्धलाई चिनाउने प्रयत्न होइनन्, बरु आयोजकहरू आफू चिनिन अपनाइएका छद्म कृत्य हुन्। हुन पनि अक्सर मानिसलाई प्रसिद्धिको भोक हुन्छ। ख्याति पाउन या लाइभ लाइटमा आउन मानिसले जे पनि गर्न पछि पर्दैन। संस्कृतमा एउटा कहावत छ :

घटं जिन्याद् पटं जिन्याद् यद्वा राषभ रोहणात्।

येनकेन प्रकारेण प्रसिद्ध पुरुषो भवेत्।

अर्थात्, घैंटो फोर्दै हिँडेर होस् या वस्त्र च्यात्दै हिँडेर होस् अथवा गधामाथि सवार भएर किन नहोस्, जसरी पनि मानिस प्रसिद्ध होओस्। टुँडिखेलको प्रदर्शनी सम्भवतः यस्तै मनोविज्ञानबाट प्रेरित भएको हुनुपर्छ। बुद्धका नाममा आफ्नै प्रचार गर्ने प्रपञ्च गरिनु र त्यो आशय उदांग हुनु शोभनीय होइन।

धम्मपद वाचन

मानिसहरूको ठूलो भेलाले एकसाथ गौतम बुद्धको शिक्षा धम्मपद वाचन गरेर विश्वकीर्तिमान कायम गर्न खोज्नु पनि दोषपूर्ण देखिन्छ। किनभने यो कार्यले बुद्धका शिक्षाको मर्मलाई एक थोपा पनि हेक्का राख्दैन। बुद्धका शिक्षाको मर्म शील पालना गर्दै ध्यानको अभ्यास बढाएर प्रज्ञालाभ गरी आफू दुःखबाट मुक्त हुनु र करुणावान् भएर सबैलाई निर्वाणको बाटो देखाउनु हो। यति महत्वपूर्ण र गम्भीर विषयलाई सम्बोधन गर्ने तौरतरिका फराकिलो सोचयुक्त हुनुपथ्र्यो। जस्तो, राज्यस्तरबाट सामान्य बौद्ध अभ्यासलाई नेपालभरि जनस्तरमा पुर्‍याउन ठोस कार्ययोजना ल्याउन सकिन्थ्यो। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्यका अनुसार ‘शील र संयमको महत्व बुझ्दै नबुझेका मानिसले नारा लगाएर बुद्ध शिक्षाप्रति सचेतना बढ्ने सम्भावना देखिँदैन। यसका लागि त सरकारी स्तरबाट सुविचारित कार्ययोजना अगाडि सारिनुपर्छ। बुद्ध शिक्षाको सामान्य ज्ञान र अभ्यास सबै नेपालीलाई उपलब्ध गराउनु महत्वपूर्ण काम हुन सक्छ। बुद्ध शिक्षाप्रति सचेतना जगाउनेजस्तो गम्भीर विषयमा उपलब्धिमूलक र बृहत्तर गतिविधि आयोजना गर्न विलम्ब गर्नु हुँदैन।’

प्राध्यापक बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयले गुरुयोजनामा ‘डोर टु डोर बुद्धिस्ट स्टडिज’ कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै बरु यस प्रकारका बुद्ध दर्शनलाई जनस्तरसम्म पुर्‍याउने अभियानलाई सबै मिलेर सहयोग गर्नु अधिक फलदायी हुने बताउनुभयो।

धम्मपद भगवान् बुद्धका शिक्षाहरूको सार समेटिएको सुन्दर काव्य हो। आफ्नो जीवनकालमा ४० हजार पुस्तक पढिसकेका आचार्य रजनीशले धम्मपदका बारेमा भनेका थिए, ‘धम्मपद पुस्तकहरूमध्ये एभरेस्टजस्तै छ। हिमाल त जति पनि छन् तर कुनै पनि एभरेस्ट जति उँचा छैनन्।’ बौद्ध विद्वान् भदन्त आनन्द कौसल्यायन धम्मपदको गुरुगरिमाबाट ज्यादै प्रभावित थिए। उनले भनेका छन्, केवल एउटा पुस्तकलाई जीवनभर साथी बनाउने यदि कहिल्यै तपाईंको इच्छा भयो भने विश्वका पुस्तकालयमा धम्मपदभन्दा सुन्दर कृति अर्को फेला पर्न मुस्किल छ।

धम्मपदले जीवन र जगत्लाई बुझ्न सघाउँछ, आफैंलाई बुझ्न सघाउँछ, आफ्ना दुःखहरू बुझ्न सघाउँछ। एकपटक हामीले आफ्ना दुःखहरू बुझ्न सक्यौं भने हामी ती दुःखबाट सधैंका लागि मुक्त हुन सक्छौं। बुद्धको यति अनमोल शिक्षाहरू बीच बजारमा होहल्लासाथ प्रदर्शन गर्न प्रयोग हुनु शोभनीय होइन। बौद्ध अनुयायीहरूले दैनिक पाठ गर्ने यो ग्रन्थको महत्तालाई बुझ्ने हो भने ठूला संघसंस्था एवं राज्य स्तरबाट धेरै महत्वपूर्ण काम गर्न सकिन्छ। पहिलो कदम त धम्मपदलाई निःशुल्क या परल मूल्यमा छापेर सबै नेपालीका हातहातमा पुर्‍याउन सकिन्छ। टोलटोलमा ध्यान केन्द्र स्थापना गरेर ध्यानको अभ्यास गराउने र शील पालनाको महत्ता बुझाउने शिविरहरू गर्न सकिन्छ। केही वर्षयता बुद्धको शिक्षा शुद्धसिद्ध परम्पराअनुसार अध्ययन, अध्यापन र अभ्यास गर्दै आएका बौद्ध धर्मसंघहरूलाई सहयोग पुर्‍याउनु महत्वपूर्ण हुन सक्छ।

हामी जुन समाजमा बाँचिरहेका छौं, त्यसको वास्तविक चित्र अकल्पनीय हुँदै गइरहेको छ। समाज विकृतिको चरम सीमा पार गर्दैछ। टोलटोलमा डान्सबार खुलेका छन्। मिनरल वाटरभन्दा विदेशी रक्सी बढी बिक्री हुन्छ। दैनिक हजारौं निर्दोष पशुको हत्या गरेर मानिसहरू हिंसाजन्य आहार खान्छन् र हिंस्रक स्वभाव बढाउँछन्। बाबुनानीहरू होस्टलमा राखिन्छन्, होटलमा जंक फुड खान्छन् र स्वास्थ्य बिग्रिएपछि हस्पिटलमा धाएर जीवन बिताउँछन्। बूढा भएका बाबुआमालाई फोहोरी वृद्धा श्रममा राखिन्छ। जनसंख्याको एक तिहाइ ओगट्ने युवाहरू खाडीलगायत मुलुकमा पसिना बगाइरहेका छन्। गाउँहरू सुनसान भइसके। खेतीयोग्य जमिन या त बाँझै छ या जग्गा दलालको प्लटिङमा। भएका उद्योग कलकारखाना रुग्ण हुँदै मेटिइसके। यो स्थितिमा सहरका भद्रभलाद्मी मिलेर बुद्धका नाममा आफ्नै प्रचार गर्नु कुनै पनि कोणबाट सराहनीय छैन।

शुद्ध आशय

शुद्ध आशय भए धेरै गर्न सकिन्छ। आयोजकहरूले जे गरे, त्यो भई नै सक्यो। आयोजकहरूको शुद्ध आशय बुद्धका शिक्षाहरूको प्रचार गर्ने नै हो भने केही बिग्रेको छैन। अझै महत्वपूर्ण काम गर्न सकिन्छ। सरकारलाई, सम्बन्धित निकायलाई घच्घच्याउनुहोस्, कुनै ठोस कार्यक्रम ल्याउनुहोस्, जसले मानिसहरूमा बुद्धका शिक्षाप्रति आकर्षण बढोस्। बुद्धका शिक्षाहरू सरल नेपाली भाषामा उपलब्ध होऊन् र ती ग्रन्थमा सबै नेपालीको पहुँच होस्। दूरदराजका बस्तीहरूमा धम्मपद र बुद्धका अन्य शिक्षाहरू पुगून्। नेपाल बौद्ध अध्ययनको केन्द्र होस्। नेपालमा विशिष्ट बौद्ध विद्वान् र गहिरो ध्यान बस्ने भिक्षु एवं साधकहरू पैदा होऊन्। सयौं साधक सम्यक सम्बोधि प्राप्त गरेर बुद्ध बन्न सकून्। त्यस्तो वातावरण बन्न सक्यो भने बल्ल हामीले बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गर्ने ठाउँ रहनेछ।

अर्को एउटा महत्वपूर्ण काम, महायान बौद्ध साहित्य संस्कृत भाषामा लेखिएको छ र ती संस्कृत ग्रन्थहरू पढ्ने र पढाउने परम्परा झन्डै झन्डै लोप नै भइसक्यो। ती ग्रन्थ अध्ययन परम्परा लोप भएमा समस्त महायान बौद्ध दर्शन लोपोन्मुख हुनेछ। यसलाई बचाउन के गर्न सकिन्छ सोचौं। नेपालमा प्राज्ञिक तहमा बौद्ध दर्शन अध्ययन अध्यापन हुन थालेको दुई दशक हुनै लाग्यो। कुन कुन विश्वविद्यालयमा बौद्ध अध्ययन भइरहेको छ, कुन स्तरमा भइरहेको छ, केकस्ता विद्वान्ले अध्यापन गर्दैछन् र विद्यार्थी बनेर पढ्न आउनेहरू को हुन् ? एउटा सर्भे गर्न आवश्यक भइसकेको छ। यसबाट बौद्ध शिक्षाको अध्ययन मननको स्थिति के छ र अब अगाडि के कस्ता कार्ययोजना ल्याउन आवश्यक छ भन्ने खुल्ने थियो।

नेपालमा बौद्ध दर्शनको अध्ययन, अध्यापन या अभ्यासको यथार्थ स्थिति कस्तो छ ? त्यो थाहा पाएको भए आयोजकहरूले सम्भवतः बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचारबाजी गरिहाल्न हतार गर्दैनथे। लाजमर्दो स्थिति छ, बुद्ध नेपालमा जन्मेका हुन् भन्न। बुद्धका वचनहरू मूल पालि या संस्कृत भाषामा छन्। यी भाषामा बुद्ध वचन पढ्ने र अभ्यास गर्ने व्यक्ति औंलामा गन्न सकिने पनि छैनन्।

लुम्बिनी नजिकै छिमेकी भारतले उसको भूमिमा बौद्ध अध्ययन अध्यापनका लागि सिद्धार्थ विश्वविद्यालय स्थापना गरेको छ। त्यो ठाउँलाई कपिलवस्तु नै भनिँदो रहेछ। झन्डै १२ सय करोडको बजेट उक्त विश्वविद्यालयलाई सरकारले छुट्याएको बताइन्छ। नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई छुट्याएको बजेट १२ करोड पनि छैन। यो बजेटले बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको विस्तार गर्न महत्वपूर्ण कार्यक्रम ल्याउन सम्भव भइरहेको छैन। हामीले ध्यान केन्द्रित गर्नुपर्ने ठाउँ यी हुन्। बुद्ध नेपालमै जन्मेका हुन् र हामीले वास्तविक महत्वको विषयमा फोकस गर्ने हो भने हाम्रो जीवन निकै उज्यालो हुने थियो। बुद्धले भनेझैं अप्प दीपो भव, आफू आफ्नै प्रकाश बन्न सक्ने थियौं।

(नेत्र आचार्य द्वारा लिखित यो लेख हामीले अन्नपूर्ण पोस्टबाट साभार गरेका हौ | लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत छन्।)