मे २५ तारिखमा एनआरएन युकेका उपमहासचिब अधिकारीले ऐतिहासिक बहस गर्दै

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख २८, २०७६

काठमाडौं – संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकताको विषयलाई प्रमुख मुद्दा बनाएर एनआरएनका शीर्ष नेतृत्वले बेलायतमा बहस गर्ने भएका छन्। गैर आवासी नेपाली संघका पदाधिकारीदेखि मुख्य–मुख्य अभियन्ताको सहभागीतामा बेलायतमा नागरिकताको बहस हुन लागेको हो।

२४ न्युज प्रेस डटकमले आफ्नो वार्षिकोत्सवको अवसरमा आगामी जेठ ११ गते एनआरएनएसँग मिलेर यस्तो बहसको आयोजना गरेको हो। कार्यक्रममा एनआरएन नागरिकताको सवाल, राष्ट्र विकासमा एनआरएनको आर्थिक लगानी, नेपाली कला, संस्कृति र सभ्यताको नयाँ पुस्तामा हस्तान्तरण, गोर्खाको गौरव र चुनौतीलगायतका एजेन्डामा बहस हुने आयोजकले जनाएको छ ।

‘गैर आवासिय नागरिकतादेखि नेपालको हितमा हुने सवै बिषयलाई समेटिने छ, नागरिकता र गोर्खा सैनिकको बिषय मुख्य रहेका छन,’ सो संस्थाका प्रुमख पत्रकार बिनय अधिकारीले जानकारी दिए । अधिकारी एनआरएनए बेलायतका उपमहासचिवसमेत हुन् । अधिकारीका अनुसार वाषिर्कोत्सवको अवसरमा विभिन्न विधामा अवार्डसमेत प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा एपीवान टेलिभिजनका चर्चित कार्यक्रम प्रस्तोता टीकाराम यात्रीबाट टक सो समेत हुनेछ । कार्यक्रममा नेपाली महामहीम राजदूत दुर्गा प्रसाद सुवेदी, एनआरएनका पूर्व अध्यक्षद्वय जीवा लामिछाने, शेष घले, वर्तमान अध्यक्ष भवन भट्ट, एनआरएनए नागरिकता कार्यदलका संयोजक रामप्रताप थापा, एनआरएन आइसिसीका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, एनआरएन अभियन्ता सोनाम लामा, पूर्व अध्यक्ष योगेन क्षेत्री, सूर्य गुरुङ, डमर घले एनआरएन यूरोप संयोजक शिव कुमार बरुवाल, एनआरएन अफ्रिका संयोजक सुनिल कार्की, एनआरएन यूके अध्यक्ष योग कुमार फगामी, अष्टेलिया महावाणिज्यदूत दीपक खडका, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एपी वान टेलिभजनका महाप्रवन्धक विकास लामिछाने, एपी वान टेलिभजनका सिनियर रिर्पाटर मोहराज शर्मालगायत एनआरएनए युरोपभरिका एनसिसी अध्यक्ष तथा क्षेत्रीय संयोजक, सहसंयोजकहरुको सहभागिता रहनेछ ।

दुई चरणमा सम्पन्न हुने कार्यक्रममा पहिलो चरणमा बहस र दोस्रो चरणमा प्रोत्साहन कार्यक्रम रहेको अधिकारीको भनाई छ ।