कम्युनिस्टको ल्यापटप मोह : कांग्रेसका युवा नेता खतिवडाले दिए दनक

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ २९, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संघीय संसदका सांसदहरूलाई सिंहदराबरभित्रै थकान मार्न आराम कक्षको व्यवस्था गर्न कम्युनिस्ट सरकारसँग व्याङ्गात्मक माग गरेका छन् ।

युवा नेता खतिवडाले बुधबार बिहान ट्वीट गर्दै सांसदहरूलाई छ करोड खर्च गर्न दिइएको रकम र ल्यापटप वितरण गर्न लागेको विषयमा आलोचना गरेका हुन् । सांसदहरूलाई सरकारी पैसा खर्च गरेर कम्युनिस्ट सरकारले संसद सचिवालयमार्फत ल्यापटप दिँदै छ । ल्यापटप चलाउन प्रशिक्षण पनि दिइनेछ ।

‘हाम्रा माननीय ज्यूहरूलाई ६ करोडले पुगेन । अब ३ सय ३४ ल्यापटप । अनि एक घर, एक पजेरो घरमा एक सहयोगी र सिंहदरबारमा दिउँसो एक आराम कक्ष थकान मार्न’, उनले ट्वीटमा भनेका छन्, ‘सरकारले व्यवस्थापन गरोस् देशमा समृद्धि आउनेछ । गरिबी अन्त्य हुनेछ । अनि गाउँ–गाउँमा जनता सम्पन्न हुनेछन् । जय ओली सरकार ! ’

संघीय सांसदहरूलाई आफ्नो क्षेत्रमा खर्च गर्न पाउने गरी कम्युनिस्ट सरकारको बजेटमा छ करोड छुट्याइएकोमा विरोध भइरहेको छ ।

नेपाली कांग्रेसले पनि सांसदहरूलाई छ करोड खर्च गर्न दिन नहुने पक्षमा छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले सांसदहरूलाई व्यक्तिगत रुपमा क्षेत्रमा छ करोड खर्च गर्न दिँदा विकास नहुने बताएका छन् ।

नेपाली कांग्रेसका अर्का नेता डा. मीनेन्द्र रिजालले पनि सांसदहरूलाई छ करोड दिइएको विषय रुचाएका छैनन् ।