पाँचथर सामूहिक हत्या प्रकरण : गृमन्त्री थापाले खोले मुख

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ८, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले सो हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन् । गृहमन्त्री थापाले सो घटनामा संलग्न ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली नै घटनास्थल पुगेको छ । सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।

सोमबार राति आरुबोटेका धनराज शेर्मा लिम्बू र बमबहादुर फियाक लिम्बूको परिवारका नौ जनाको हत्या भएको थियो । धनराजको घरमा पाँचवटा र बमकुमारो घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

लघु उद्यम प्रशिक्षकसमेत रहेकी स्थानीय अर्चना गुरुङका अनुसार धनराज बमबहादुरका छोरीज्वाँई हुन् । प्रहरीका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम खुल्न नसकेकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

यसैबीच बमबहादुरका कान्छा छोरीज्वाँई मानबहादुर माखिम सामूहिक हत्या गरिएको स्थानबाट झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । गृहमन्त्री थापाले माखिमको साथबाट एक थान खुकुरी फेला परेको बताएका छन् ।