रामहरि खतिवडाको काउन्टर : कांग्रेस नभएको भए कुन म्युजियममा हुन्थ्यौ बैगुनी बाबुराम ?

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ४, २०७६

काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता रामहरि खतिवडाले कांग्रेसलाई म्युजियममा राख्नुपर्ने भाषण गर्ने डा. बाबुराम भट्टराईलाई काउन्टर दिएका छन् ।

गोरखामा कांग्रेसकै भोट पाएर चुनाव जितेका बाबुरामले गुन बिर्सिएर ‘बैगुनी’ भएको खुलासा गर्दै नेता खतिवडाले बाबुराममा दम्भ पलाएको बताए ।

‘सत्तारुढ उपेन्द्र यादवसँग एकता गरेपछि तपाईंमा दम्भ पलायो । तर कांग्रेसले भोट नदिएको भए कुन म्युजियममा हुन्थ्यौ बाबुराम ?’ मिडिया डबलीसँग कुराकानी गर्दै नेता खतिवडाले प्रश्न गरे, ‘तपाईंलाई जिताएको उपेन्द्र यादवले हो कि कांग्रेसले ?’

उपेन्द्र यादवसँग पार्टी एकीकरण हुने वित्तिकै कांग्रेसमा छुद्र टिप्पणी गर्नु नैतिक पतनको संकेत रहेको नेता खतिवडाले बताए । उनले चुनाव जिताउने गोरखाका जनता र कांग्रेसी मतदातालाई बिर्सनु ठूलो धोका भएको समेत बताए । प्रतिनिधिसभा निर्वाचनमा बाबुरामलाई सघाउन उनको क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाएको थिएन ।

उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल केन्द्रीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले शुक्रबार कांग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने टिप्पणी गरेका थिए । पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले भनेका थिए, ‘नेपाली कांग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठूलो भूमिका रह्यो । अब कांग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्छ ।’

कांग्रेस म्युजियममा राखिएको भए बाबुरामको पराजय गोरखामा निश्चित रहेको घोषणा गर्दै कांग्रेस नेता रामहरि खतिवडाले भने, ‘बैगुनी बाबुरामको राजनीतिक पतन शुरू भएको छ । घमण्ड गर्ने नेताको निश्चय नै पतन भएका उदाहरण हामीसँग धेरै छन् । लज्जास्पद हार हुनबाट कांग्रेसले बचाएको चटक्कै बिर्सिने बाबुरामलाई अब कसैले पनि बचाउने छैन ।’