कम्युनिस्ट सरकार बलात्कारी र भ्रष्टाचारीलाई बचाउनमा लागेको छ : सहमहामन्त्री महत

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

बागलुङ – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिस्ट सरकारले समृद्ध राष्ट्र बनाउन नसक्ने बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघ बागलुङको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री महतले सरकारले जनतालाई पार्टीको नियन्त्रणभित्र ल्याउन डर, त्रास र धम्कीका आधारमा हरेक क्षेत्रमा आतंक फैलाउने कामबाहेक अरु गर्न नसक्ने बताए ।

उनले जनतालाई भ्रम छर्नबाहेक कम्युनिस्ट सरकारले अरु केही गर्न नसक्ने बताउँदै उनीहरूसँग समृद्ध राष्ट्र निर्माण गर्न सक्ने क्षमता नभएको आरोप लगाए । ‘वर्तमान सरकार सबै क्षेत्रमा असक्षम सावित हुँदै गएछ,’ मन्त्री महतले भने, ‘सरकारले भ्रष्ट्राचारी, बलात्कारी र अपराधीलाई संरक्षण गर्न भ्याइँनभ्याइँ छ, कसरी मुलुुक समृद्ध बन्छ ? समृद्ध राष्ट्र सुखी नेपाली सरकारको नारा नारामै सीमित भएको छ ।’

उनले जनताको आवाज, समस्या र मर्का बुझ्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको भन्दै संगठन विस्तारका साथ अगामी निर्वाचनमा कांग्रेस एक्लैले सरकार बनाउने दाबी गरे । सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको बताउँदै उनले यसको विरोधमा नेपाली कांग्रेस लागि रहेको बताए ।

मन्त्री महतले अहिलेको सरकार नेपाली कांग्रेसले गरेको कामलाई हामीले गरेको भन्दै नेपाली जनतालाई भ्रम फैलाउँदै हिँडेको आरोप समेत लगाए । ‘नेपाली कांग्रेसले मुलुकमा धेरै कामहरु गर्‍यो तर प्रचार गर्न जानेन,’ मन्त्री महतले भने, ‘कम्युनिस्ट सरकारले काम गर्न सक्दैन, गरेको पनि छैन तर भ्रमात्मक प्रचार गरेर नेपाली जनतालाई झुक्याउन जानेको छ ।’

अहिलेको सरकारले समानताको कुरा गरेपनि उनीहरूमा नियन्त्रणकारी सोच भएको बताउँदै कम्युनिस्टले शासन गरेको देशमा निरंकुश शासन भएको र त्यो देशका नागरिक कहिल्यै सुखी नभएको बताए ।