शेरबहादुर देउवाको गृहजिल्लामा लफडा, सभापतिसहित ९ जना पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

डडेल्धुरा – पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा लफडा भएको छ ।

जिल्ला सदरमुकामस्थित डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकै अगुवाइमा तोडफोड भएको हो ।

शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला स्ववियू सभापति जगत ऐर नेतृत्वको टोलीले ढुंगामुढा र तोडफोड गरेका छन् ।

तोडफोडमा संलग्नको आरोप लागेका सभापति ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको परीक्षा बिथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् ।

पक्राउ परेका विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । तोडफोडबाट क्याम्पसका केही कोठाको झ्यालका सीसा फुटेका छन् ।

डडेल्धुरा बहुमुखी क्याम्पसले त्रिविको नियम विपरीत राजनीतिक भागभण्डाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियूले ८ दिन अगाडि ताला लगाएको थियो ।

नेकपा डडेल्धुरा, नेपाली कांग्रेस डडेल्धुरा र जिल्ला प्रशासनको मिलेमतोमा कर्मचारी भर्ना गर्ने लागेको भन्दै स्ववियूले तालाबन्दी गरेको थियो ।

क्याम्पसले ताला तोडेर पूर्वनिर्धारित मितिमै कर्मचारी भर्नाको परीक्षा लिएको थियो । तीन जनाको लागि सिटमा १२ जनाले आवेदन दिएपनि ७ जना मात्र परीक्षामा सहभागी भएको क्याम्पसले जानकारी दिएको छ ।

क्याम्पसको कर्मचारी भर्ना विज्ञापनमा स्ववियू सभापति ऐरकी पत्नीले पनि आवेदन दिएकी थिइन् । सभापति ऐरले आफ्नी पत्नीलाई नियुक्त गर्न क्याम्पस प्रमुखलाई दबाब दिएको तर नमानेपछि आन्दोलन शुरू गरेको आरोप लागेको छ ।

स्ववियू सभापति पक्राउ परेपछि रिहाइको माग गर्दै विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । विद्यार्थी र क्याम्पस प्रशासनको विवाद चर्केपछि घटनाले उग्र रुप लिएको छ ।