शीर्ष नेताहरूमा बिभाजन ल्याउन विभिन्न खालका गिरोह सक्रिय : प्रचण्ड

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूमा बिभाजन ल्याउन विभिन्न खालका गिरोह सक्रिय रहेको बताएका छन् ।

२३औँ मदन–आश्रित स्मृति दिवसका अबसरमा शुक्रबार बिहान बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भूमिगत गिरोहले नेकपामा फुट ल्याउन भूमिका खेलेको बताए । उनले भूमिगत गिरोहको नाम भने भनेनन् ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको नाम नलिएर दाहालले भने, ‘हामीलाई फुटाउन भूमिगत गिरोह लागेको छ । फुटाउन खोज्ने तत्वहरू सक्रिय छन् ।’ उनले कम्युनिस्टहरूले केही गर्न सक्दैन भन्नेहरू धेरै रहेको भन्दै आफूहरू लोकतान्त्रिक पार्टी भएको बताए ।

पार्टी समायोजनको कुरा ढिलै भएपनि गरेर आएको बताएका दाहालले भने, ‘हामीले पार्टी समायोजन गर्न ढिलाइ भएको हो । तर, हामीले सबै कुरा मिलाएका छौँ ।’

दाहालले मदन भण्डारीको जनताको बहुदलीय जनवादको उच्चारण नगरे पनि साविक एमालेका केही पुराना नेताहरूले मदन भण्डारीको सिद्धान्तलाई रटान लगाएको भनेर आलोचना गरे । उनले एउटै सिद्धान्तलाई रटान गर्ने विषय वैज्ञानिक नहुने बताए ।

दाहालले आफूहरूले समाजवादको नयाँ मोडल दिने बताए । ‘पुरानो सिद्धान्तलाई मात्रै रटान गर्ने कुरा वैज्ञानिक होइन’, दाहालले भने, ‘केही पुराना नेताहरूले मदन भण्डारीको सिद्धान्त रटान गर्ने गरेका छन् । पार्टी एकीकरण हुँदा नयाँ सहमति भएको छ । त्यसलाई आत्मसात गर्नुपर्छ ।’

कार्यक्रममा सम्बोधन गरिरहँदा नेकपाका दोस्रो अध्यक्ष दाहालले सरकारको कारबाहीका बारेमा एक शब्द पनि बोलेनन् । उनले सरकारको बचाउ वा आलोचना केही भनेनन् ।

यसअघिका कार्यक्रमहरूमा खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले काम गर्न नसकेको भन्दै आलोचना गर्दै आएका थिए । तर, ओलीलाई आफ्नै अगाडि देखेपछि प्रचण्डले सरकारको एक शब्द पनि मुखमा ल्याएनन् । प्रचण्डले सरकारको समर्थनमा पनि बोलेनन् ।

कार्यक्रममा ओलीले आफ्नो सरकारको कामकारबाहीको प्रशंसा गरेका थिए । उनले सरकारले काम गरेको भन्दै अर्को निर्वाचनमा दुई तिहाइको बहुमत ल्याएर एकलौटी सरकार बनाउने दाबी गरेका थिए ।