कम्युनिस्ट मन्त्रीको गृहजिल्लामा नेकपाभित्र पहिरो, जिल्ला सचिव कांग्रेसमा प्रवेश

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

गुल्मी – कम्युनिस्ट सरकारका श्रममन्त्री गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विभिन्न संघसंस्थामा आवद्ध रहेका युवा संघ गुल्मीका सदस्यहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जिल्ला सचिव कपुर घिमिरे, रमेश पन्थी, बद्री खनाल र भोजराज विक नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दे कपुर घिमिरे वर्तमान कम्युनिस्ट पार्टीको सरकारले भ्रष्टाचार, अनियमितता, महंगी बढाएको र राष्ट्र नै बेच्न लागेको भन्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

‘यो कम्युनिस्ट पार्टीको सरकार भ्रष्टाचार, महंगी र अनियमिततामा अगाडि बढेको छ, यस्तै हो भने राष्ट्र नै बेच्न समय लाग्दैन,’ उनले भने ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान बिहीबार धुर्काेट गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले नेपाल कम्युनिस्ट पार्टीले १० बर्ष आन्दोलन गरेर पनि ल्याउन नसकेको संविधान नेपाली कांग्रेसले ल्याएको बताए ।

‘कम्युनिस्ट पार्टीको सरकारले गर्न नसकेका काम नेपाली कांग्रेसले मात्रै गर्न सक्छ,’ उनले भने । कार्यक्रमका विशेष अतिथि गुल्मी कांग्रेस पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले लामो समयपछिको अभ्यासपछि कांग्रेस निर्णयमा पुगेको बताए ।

पहिलो चरणको धुर्काेट गाउँपालिका गुल्मीमा बोल्दै अधिकांशले कम्युनिस्ट सरकार अधिनायकवाद र लाजमर्दाे स्थितिमा पुगेकोले जागरण अभियान महत्त्वपूर्ण भएको बताएका थिए ।

कार्यक्रममा कांग्रेसका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाको लगायत धुर्काेटवासीको उपस्थित रहेको थियो ।