पूर्व एमाले निकट युथफोर्स गयो वाइसीएलको कब्जामा, अब के हुन्छ ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनवर्गीय संगठनको नेतृत्व भागबण्डाका क्रममा पूर्व एमाले निकट युथफोर्स संगठन पूर्व माओवादी निकटको वाइसीएलको कब्जामा गएको छ ।

लामो रस्साकस्सीपछि नेकपाको सचिवालय बैठकले बिहीबार सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको छ ।

बैठकले अनेरास्ववियूको अध्यक्षमा पूर्व एमाले निकट ऐन महरलाई चुनेको छ । युवा संघको जिम्मा पूर्व माओवादी निकट वाइसीएल अध्यक्ष दीपशीखालाई दिइएको छ ।

महिला संगठनको जिम्मा पूर्व माओवादी नेतृ अमृता थापामगरलाई दिँदा पत्रकारको संस्था प्रेस संगठनको जिम्मा महेश्वर दाहाललाई दिइएको छ । दाहाल पूर्व माओवादी हुन् ।

बुद्धिजीवी संगठनको अध्यक्ष डा. दिनेशचन्द्र देवकोटालाई बनाउँदा मजदुर संगठनको अध्यक्ष विनोद श्रेष्ठलाई बनाइएको छ । देवकोटा पूर्व एमाले हुन् भने श्रेष्ठ पनि पूर्व एमाले हुन् । भागबण्डाको घोषणा भोलि शुक्रबार हुने जनाइएको छ ।