गगन थापाले गरे सारा नेपाली जनतालाई सार्वजनिक आह्वान

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

जाजरकोट – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश शैलीविरुद्ध लाग्न सारा नेपाली जनतालाई आह्वान गरेका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह बजारमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा नेता थापाले नेपाली कांग्रेस कम्जोर नभएर जिम्मेवार भएको बताए ।

संसदमा थोरै संख्या भयो भनेर सत्ता पक्ष नेकपा र अरुले आफ्नो पार्टीलाई कम्जोर भनेर आलोचना गर्ने गरेको प्रसंग उठाउँदै नेता थापाले कांग्रेस कमजोर नभएर गणतन्त्र, संविधान कार्यान्वयन र राजनैतिक मुल्य मान्यताप्रति जिम्मेवार भएको बताए ।

जनताको त्याग, बलिदान र संघर्षले प्राप्त गरेको गणतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि संख्या जेसुकै भएपनि कांग्रेस जिम्मेवार प्रतिपक्षको सशक्त भूमिकामा रहेको थापाले प्रष्ट पारे ।

पूर्वमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता थापाले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको र यसका विरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरू जाग्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीले दुनियाँलाई जिस्काउन मिल्ने तर एउटा नागरिक र पत्रकारले उहाँको गलत कामको विरोधमा लेख्न र बोल्न नपाउने व्यवस्था लोकतान्त्रिक हुँदैन,’ उनले भने । दुईतिहाइको दम्भमा सरकार निरंकुश र अलोकतान्त्रिक हर्कत देखाउन उद्दत रहेको नेता थापाले आरोप लगाए ।

थापाले जनताको प्रतिनिधिको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीका केही कामहरूले गणतन्त्रप्रति नै जनताले नकारात्मक धारणा बनाउन थालेको बताए । शितलनिवासबाट राष्ट्रपति बाहिर निस्कँदा सडकमा जनताको भागाभाग हुनुले गणतान्त्रिक शासन व्यवस्थाप्रति नै जनतामा आक्रोश पैदा गराउन थालेको थापाले बताए ।

‘कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बुवाआमालाई सरकारले न्याय दिन सकेन तरपनि दुईतिहाइको दम्भ देखाउँछ,’ नेता थापाले भने ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको आमसभामा बोल्दै राष्ट्रिय जागरण अभियानका लागि जाजरकोटमा केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले देशको वर्तमान अवस्था र कांग्रेसको भूमिकाका बारेमा जनतालाई जानकारी गराउन आफूहरू गाउँमुखी भएको बताए । उनले नेकपाको सरकारले दुईतिहाइको नाममा देखाएको दम्भ र अधिनायकवादी शैलीका कारण देशमा जनताको सरकार भएको अनुभूति गर्न नपाएकोले सरकारका गलत कार्यहरूको विरुद्ध सारा देशवासीहरू जाग्नुपर्ने बताए ।

आमसभामा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका पूर्वसदस्य खडक बिसी, नेपाल महिला संघ जाजरकोटकी अध्यक्ष मैना कार्की, नेपाली कांग्रेसका नेताहरू शेरबहादुर शाही, वेदराज सिंह, कांग्रेस जाजरकोटका पूर्वसभापति सनतकुमार कार्की, वर्तमान सभापति दिपकजंग शाह लगायतका नेताहरूले जागरण अभियान, कांग्रेसको भूमिकाबारे आफ्ना धारणाहरू राखे ।

क्षेत्रीय सभापति कालीबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न आमसभामा जिल्लाका सातै स्थानीय तहका कांग्रेसी नेता कार्यकर्ता र सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । कार्यक्रम क्षेत्रीय सचिव जनकराज शर्माले सञ्चालन गरेका थिए भने आमसभामा दुई हजार बढी जनताको सहभागिता रहेको कांग्रेसले जनाएको छ ।