रामहरि खतिवडाको दाबी : ‘ओली सरकारले विद्या भण्डारीलाई महारानीजस्तो बनायो’

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

http://www.nepatop.com.np/

सुनसरी – नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीजस्तो बनाएको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन सुनसरी शाखामा पत्रकारको आन्दोलनलाई सम्बोधन गर्दै नेता खतिवडाले नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेर राष्ट्रपति भण्डारीलाई महारानीजस्तो बनाइएको दाबी गरे ।

‘गणतन्त्र आएपछि अब पनि महारानीजस्तो भएर प्रस्तुत भएपछि हामीले राष्ट्रपतिको सरकार भनिरहेका छौं,’ उनले भने, ‘दुईतिहाइको सरकार बनेपछि देश अप्ठ्यारोमा गएको छ, सरकारले भन्ने एउटा गर्ने अर्कै गरिरहेको छ ।’

कांग्रेसले एकताको सन्देश लिएर बिमेललाई मेल बनाउन जागरण अभियान चलाइरहेको उनले बताए । ‘सरकार निरंकुश हुँदै गएको छ, अब प्रेसमाथि समेत निरंकुश व्यवहार गरिरहेको छ, प्रेस स्वतन्त्रता, कानूनी राज्य र मानवअधिकार लगायत संविधानले भनेको प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको छ,’ उनले भने, ‘निरंकुशताविरुद्ध पत्रकारको आन्दोलनप्रति कांग्रेसको पूर्ण समर्थन छ, निरंकुश विधेयकविरुद्ध जनस्तरदेखि संसदमा आवाज उठाउँछौं ।’

अराजकतावादी र असहिष्णु मान्छे संसद र सरकारमा गएपछि सबैभन्दा पहिला कानूनी राज्य र प्रेसमाथि आक्रमण हुने गरेको बताउँदै ओली सरकार पनि त्यही दिशामा गइरहेकाले कांग्रेस विरोधमा उत्रिनुपरेको बताए ।

‘पत्रकार विरोधी विधेयक पूर्णतः संविधान विरोधी छ, विधेयक तुरुन्त फिर्ता लिएर यस्ता काम नगर्न चेतावनी दिन चाहन्छौं,’ उनले भने । नेपाली कांग्रेस संसदीय दलको बैठकले समेत प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।