असन्तुष्ट हुँदै माधवकुमार नेपालले ओलीलाई भने – ख्याल गर्नुस् !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईतिहाइको दम्भ नदेखाउन आग्रह गरेका छन् ।

युवा संघ नेपालको २९ औं वार्षिकोत्सवको अवसरमा बुधवार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको बताए । ‘हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस्, दुईतिहाइ होइन ।’

उनले अहंकार छाड्न र जनताको मन जित्ने काम गर्न सुझाव समेत दिएका छन् । अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्‍याउने उनको धारणा छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘हाम्रो काम र व्यवहारले जनताको मन जित्न सक्छ । जनताका पीर, मर्कामा सहयोगी भयौं, जनताको दुःख कष्टमा साथ दियौं र जनताको सुखमा पनि रमायौं भने अनि जनताले हामीलाई मन पराउनेछन् ।’

‘जनताका समस्या के हुन् ? चाहना के हुन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु, हाम्रो बानी के भएको छ भने भन्ने धेरै बोल्ने । कम सुन्ने,’ उनले भने ।

कम्युनिस्ट नेताहरूको आचरण र व्यवहार परीक्षणमा रहेको भन्दै वरिष्ठ नेता नेपालले युवा नेताहरूलाई सचेत समेत गराएका छन । ‘हाम्रो आचरण र व्यवहारमा कतै ठूला समस्या त खडा भएका छैनन् ? अनौठो खालका विकृतिहरू झांगिएका त छैनन् ? पारदर्शिता छ कि छैन ? कमिटीभित्र सबै कुराहरू छलफल हुन्छ कि हुँदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन ? योग्यता क्षमताको मुल्यांकन गरिन्छ कि गरिँदैन ? जम्मै कुराहरूलाई हेर्नुहोस्,’ उनले भने, ‘किनभने अन्त्यमा तपाईको व्यवहारले नै मान्छेको मन जित्छ ।’

भाषणको प्रतिष्पर्धामा नजाने भन्दै उनले सामाजिक न्यायसहित सम्मृद्धि मुठ्ठी भरको जमातका लागि नभएको बताएका छन् ।