सरकारी कर्मचारी नै मन्त्री मातृका यादवलाई कुट्न गएपछि …

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौँ- उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्री मातृका यादव र काँग्रेस निकट कर्मचारी युनियनका नेताबीच कुटाकुट भएको छ ।

सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमानै कुटाकुट भएको हो । उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका हुन् ।

उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जानकारी दिएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेको मन्त्रीको निजी सचिवायलयले जनाएको छ । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

छलफलका क्रममा असमझदारी पैदा भएपछि कुटाकुट भएको जनाइएको छ । तर मन्त्री यादवको सचिवालयले भनेको कुटाकुट भएको नभई मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ ।