प्रधानमन्त्री ज्यु बुद्धिजीवीलाई थला बसाल्ने अरिङ्गाल उत्पादन नगर्नूस् : निधि

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, बैशाख १८, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका उपसभापति विमेलेन्द्र निधिले बालुवाटार प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको नामसमेत जोडिएपछि प्रधानमन्त्रीले विपक्षीलाई देखाएर आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप लगाएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा निधिले प्रधानमन्त्रीले ३३ किलो सुन काण्ड, निर्मला प्रकरण टुंगो लगाउन नसकेको र ललिता निवासमा पनि ‘फलानो पार्टीको बेलामा यस्तो भएको रहेछ’ भन्दै आफ्ना मानिस जोगाउन लागि परेको बताएका छन् । सोही प्रकरणमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल पनि मुछिएका छन् ।

‘प्रधानमन्त्री झुठो प्रचार गर्दै हुनुहुन्छ । जसको पालामा जे भएको छ त्यही लेखौँ । भर्खरकै कुरा हो । लिच्छविकाल र मल्लकालको कुरा होइन,’ उनले भने । ‘निर्मला पन्त बलात्कार काण्ड कहाँ पुग्यो ? सुन काण्ड कहाँ पुग्यो ? ललिता निवासमा विपक्षीलाई देखाएर आफ्नो नजोगाउनूस्, खुलामञ्च बेच्ने नजोगाउनूस्,’ उनले खबरदारी पनि गरे ।

‘सरकारले लगानीको वातावरण बनाओस्, उत्पादनमा ध्यान दिनुपर्छु, उनले भने, ‘विपक्षीलाई आक्रमण गर्ने अरिंगाल उत्पादन गर्ने होइन, बुद्धिजीवीलाई थला पार्ने र आलोचकलाई नन्दीभृंगि नभन्‍नुहोस्।’

निधिले वर्तमान सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको योगदानका आधारमा सामाजिक सुरक्षा ऐन आफैंले ल्याएझैँ नयाँ युगको सुरुवात भनेर गलत प्रचार गरेको बताए। स्थापना कालदेखि नै कांग्रेसले मजदुरको पक्षमा काम गर्दै आएको बताउँदै निधिले आगामी दिनमा पनि मजदुरको हक, हितमा लाग्ने दाबी गरे ।