नेतालाई जन्ती जान सेकेन्डमा हेलिकोप्टर, औषधी पुर्‍याउन २० दिन कुर्नुपर्ने ?

मिडिया डबली प्रकाशित : सोमवार, बैशाख १६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – मुलुक संघीय गणतन्त्रमा छ । जनताबाट लिखित संविधान छ । जनताले चुनेका प्रतिनिधिहरु नै शासन सत्तामा छन् । जनताका समस्या समाधान गर्न तीन तहमा सरकार छन् । तीनै तहमा कर्मचारी प्रशासन छन् । तर, हुम्लामा महामरी फैलिएको २० दिनसम्म पनि न त स्थानीय तहले चासो राख्‍यो, न त प्रदेश सरकारले पहल गर्‍यो न त केन्द्र सरकारले नै सुइँको पायो ।

ताँजाकोट गाउँपालिकामा २० दिन अघिदेखि फैलिएको महामारीमा नौ जनाले ज्यान गुमाए । रुघाखोकीबाट दुई सयभन्दा बढी बिरामी परेका छन् । औषधिको चरम अभाव भएको थियो। सदरमुकामबाट ४५ कोस टाढाको यस गाउँमा १९ दिनसम्म कुनै सरकारले डाक्टर र औषधि पठाउन सकेन वा चासो दिएन । सदरमुकामबाट ताँजाकोटसम्म पैदल पुग्‍न तीन दिन लाग्छ ।

महामरी फैलिएको २० दिनपछि आइतबार मात्र औषधी र चेकजाँचका लागि चिकित्सको टोली त्यस क्षेत्रमा पुग्‍यो । अझै तीन दिन लाग्‍ने त्यहाँ पुगेको चिकित्सक
टोलीले जानकारी दिएको छ ।

तीनै जनताले चुनेर पठाएका जनप्रतिनिधि भनिएकाहरु कसैको जन्ती जानु परे होस् वा पत्‍नीलाई गुमाउन परे होस्- हेलिकोप्टर प्रयोग गर्छन् । भिआईपीका नाममा सुरक्षा चुनौति देखाउँदै जनतालाई सास्ती दिन्छन् ।

गृहमन्त्री रामबहादुर थापा काठमाडौंबाहिर हुने अधिकांश कार्यक्रममा हेलिकोप्टर चढेरै पुग्छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सातै प्रदेशका राजधानी उनी हेलिकोप्टरमा गए । हेटौँडा पनि उनी हेलिकोप्टरबाटै गए । पछिल्लोपटक आइतबार मात्रै उनी सेनाको हेलिकोप्टर चढेर जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन गर्न पुगे । त्यहाँबाट इलामको पशुपतिनगर पुगेर अध्यागमन कार्यालयको उद्घाटन गरेर काठमाडौं फर्किएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल गत १७ कात्तिकमा सेनाको हेलिकोप्टर चढेर नेकपा बाराको कार्यालय उद्घाटन गर्न पुगे । उनको हेलिकोप्टर ल्यान्ड गर्न कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा चलिरहेको जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका दुई खेल नै रद्द गर्न लगाइयो । पिच भत्किएकोले दसैँअगाडि नै सकिनुपर्ने प्रतियोगिता स्थगित भयो, फाइनल खेल दसैँपछि खेलाउनुपर्‍यो ।

कृषिमन्त्री चक्रपाणि खनाल गत १ माघमा धादिङको नीलकण्ठ नगरपालिका खाल्टे फ्याक्सेमा भएको गोरुजुधाइ कार्यक्रम हेर्न हेलिकोप्टर चढेर गए । र ,केहीबेर सम्बोधन गरेर काठमाडौं फर्किए । जब कि, त्यहाँ पुग्न काठमाडौंबाट गाडीमा तीन घन्टा मात्रै लाग्छ ।

यसअघि जेलबाट छुटेका रौतहटको कटहरिया नगरपालिकाका मेयर शियाराम कुशुवाह हेलिकोप्टर चढेर गृहजिल्ला पुगे र त्यहाँ उनको भव्य स्वागत भयो ।

यी त केही प्रतिनिधि उदाहरणमात्र हुन् । कसैको जन्ती जाँदा होस् वा उद्घाटन, शिलान्यास वा पार्टीमा हेलिकोप्टरमा जाने हाम्रा जनप्रतिनिधिहरुले हुम्लाको महामारी सुन्दा कानमा तेल हाले, आँखामा पट्टी बाँधे ।

जनताको सरकार छ, कोही भोकै मर्नु पर्दैन भनेर भाषण गर्ने प्रधानमन्त्रीदेखि उनका चम्चे, भरौटेहरुले औषधी नपाएर नौ जनाको ज्यान गुमाएको देख्‍न सकेनन् । यसरी भाषणले मात्र हुँदैन । व्यवहारमा पनि त्यो लागु गर्न जरुरी छ । जनताको पीरमर्का बुझ्‍न सम्बन्धित निकाय जिम्मेवार हुन जरुरी छ ।