ओली जी ! भ्रष्टाचारको गन्ध अझै आएको छैन र ?

मिडिया डबली प्रकाशित : आइतवार, बैशाख १५, २०७६

काठमाडौँ- समृद्ध नेपाल, सुखी नेपालीको अभियान लिएर अघि बढेको वर्तमान नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी ओलीले पटक-पटक भन्‍ने गरेका छन् – भ्रष्टाचारको गन्धसमेत सह्‍य हुँदैन । प्रधानमन्त्रीले यस्तो भनिरहँदा सरकारका मन्त्री र सत्तारुढ दलका नेता नै संलग्‍न भएका ठूला भ्रष्टाचारका श्रृंखलाहरु भइरहेका छन् । चाहे त्यो एनसेल प्रकरण वा वाइडबडीदेखि बालुवाटारसम्म होस् या त्यो कुनै नियुक्ति तथा सरुवा बढुवामा होस् ।

सिमित राजनीतिक स्वार्थ र आर्थिक लाभका कारण भ्रष्टाचारीहरु मौलाएका छन् भने हरेक क्षेत्रमा अतिवाद हाबी भएको छ । भ्रष्टाचार यसरी बढ्यो भूकम्पपीडित, बाढी पहिरो र आँधी पीडितको खाने गाँसमा पनि सरकार र आसेपासेहरुले भ्रष्टाचार गर्न छोडेनन् । हत्या तथा बलात्कारका घटनाहरु झन मौलाइरहेका छन् । यस्तो भ्रष्टाचार र बेथितिका निर्मम दृश्यहरु मिडियाले समाजलाई जस्ताको त्यस्तै देखाउँदा मिडियालाई नै प्रतिबन्ध गर्ने गरी सरकार अघि बढ्यो । तर, यसको चर्को विरोध भएपछि सरकार केही ब्याक भएको हो ।

सन् २०१७ को तथ्यांक हेर्दा नेपाल विश्वको भ्रष्टाचार हुने मुलुकको सूचीमा १२२ औं स्थानमा थियो भन सन् २०१८ मा नेपाल दुई स्थान उक्लिएर १२४ स्थानमा परेको छ । भ्रष्टाचार मानव विकासका लागि सबैभन्दा ठूलो शत्रु हो जसले विधि तथा सुशासनलाई अवमूल्यन गर्दै आएको छ । बजारलाई अव्यवस्थित बनाएको छ, उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको छ, जीवनको गुणस्तरमा ह्रास ल्याएको छ ।

साथै, सामाजिक सेवामा जनताको सहज पहुँच अवरुद्ध गर्दै सार्वजनिक पूर्वाधार, सार्वजनिक संस्था र सामाजिक सेवाहरूमा लगानी हुने स्रोत अन्यत्र स्थानान्तरण गरेर सहस्राब्दी विकास लक्ष्य (एम.डी.जी.)लाई हासिल गर्ने कार्यमा व्यावधान खडा गर्न खोजेको छ । यसले मुख्य गरेर महिला, गरिब, सीमान्तकृत, आर्थिक रूपले असहाय वर्गलाई गम्भीर असर गरेको छ भने अर्कोतर्फ राज्य संयन्त्रमा हुने नीतिगत भ्रष्टाचारले देशको विकास र समृद्धिमा अवरोध खडा गर्नुको साथै दातृ संस्था तथा मित्र राष्ट्रबाट पाउने सहयोगमा विचलन ल्याउन खोजेको छ ।

हुन त “घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्” भन्ने राजा पृथ्वीनारायण शाहको उपदेशको भावनालाई मनन गर्दा घुस वा भ्रष्टाचार रातरात देखिएको समस्या नभई शताब्दीऔँदेखि नै नेपाली समाजमा देखा परेको रहेछ भन्ने बुझ्न सकिन्छ, तथापि आजको नेपाली समाजमा यो एक महामारी रोगझैँ समाजको हरेक क्षेत्रमा झन् बढोत्तरी भएको र यसको न्यूनीकरण नभएकोले ठूलो चिन्ता तथा चासो बढ्न गएको हो ।

भ्रष्टाचारले सिङ्गो समाज र देशलाई असमानता तथा अन्यायको भूमरीमा लैजाने देखिएको छ । भ्रष्टाचारकै कारणले मुलुकमा दिनहुँ गरिबी, अन्याय, अत्याचार, विषमता र शोषण फैलिन गई समतामूलक समाज निर्माणमा अवरोध हुन गएको छ । वास्तवमा दिगो विकास हुन नसक्नु, बजेटको दुरूपयोग हुनु, दुर्गम क्षेत्र, ग्रामीण भेगका जनताले सरकारबाट प्राप्त सहयोगको सहीरूपमा सदुपयोग गर्न नसक्नुमा भ्रष्टाचारले नै उल्लेखनीय भूमिका खेलेको छ । यसैले यसको जालो देशभित्र र बाहिरसमेत फैलिँदै गएको छ । भ्रष्टाचार नेपालको प्राणघातक रोगको रूपमा स्थापित हुँदै आएको छ । यसैले गर्दा संविधानको सर्वोच्चता र विधिको शासनको कार्यान्वयन पक्ष कमजोर भएको हो कि भन्ने आभास भएको छ ।

पछिल्लो समय टुँडीखेलको खुलामञ्‍चमा काठमाडौं मानगरको स्वीकृति नलिई सटर बनाएर बिक्रि भइरहेको थियो । महानगरपालिकाको आँखै अघि यस्तो सार्वजनिक जग्गा अतिक्रमण हुँदा पनि सरकारले चासो नदेखाएपछि खुलामञ्च बेचिएको विरोधमा बिहीवार जनस्तरबाट खुलामञ्च बचाऊ अभियान सुरु गरिएको थियो । काठमाडौं भ्युटावर बनाउने निहुँमा ३ वर्षदेखि पुरानो बसपार्क ओगटेर बसेको ठेकेदारले नै अहिले खुलामञ्चमा सटर बनाएर बेचेको खुलासा भएको हो ।

यसरी भ्रष्टाचारका गतिविधिहरु दिन दुई गुना र रात चौगुना बढ्दा पनि मौनजस्तै रहेको सरकारले शनिबार गरेको काम भने निकै प्रशंसनीय छ । तर, शनिबार महानगरले खुलामन्‍चको सरकारी जग्गामा बिना स्विकृती र करोडौं आर्थिक लाभ लिन बनाएका अस्थायी टहरा डोजर लगाएर हटाएको छ । यसले थोरै भए पनि आशा जगाएको छ । सरकारले खुलामन्चका अव्यवस्थित सटरमा मात्र होइन हरेक क्षेत्रमा हुने भ्रष्टाचारका सटरहरुमा डोजर लगाएर सदाका लागि बन्द गर्न आवश्यक छ । सरकारको घैंटोमा समयमा घाम लागेर सम्वृद्धि आओस ।

सामाजिक तथा राजनीतिक परिवेश बदलिएको छ तर सोच र प्रवृत्तिमा सुधार हुन सकेको छैन । यसैले भ्रष्टाचारलाई शून्य सहनशिलताको नीति अख्तियार गरेर मात्र होइन व्यावहारिक जीवनमा उतार्नका लागि राज्यका सम्बन्धित पक्षबाट पहल हुनु नै आजको मुल आवश्‍कयता हो ।