कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध रौतहट रंगियो चारतारे झण्डाले

मिडिया डबली प्रकाशित : शनिबार, बैशाख १४, २०७६

http://www.nepatop.com.np/

चपुर – नेपाली कांग्रेस रौतहट जिल्लामा कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध शनिबार आमसभा गरेको छ ।रौतहटको क्षेत्र नं. २ मा नेपाली कांग्रेस रौतहटले आमसभाको आयोजना गरेको हो ।

आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, सांसदद्वय मोहम्मद अफ्ताब आलम, देवप्रसाद तिमल्सिना, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

कांग्रेसका हज्जारौँ कार्यकर्ताले खचाखच भरिएको आमसभालाई सम्बोधन गर्दै नेताहरूले कम्युनिस्ट सरकारको विरोध गरे । उनीहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशलाई भड्खालोमा लैजान लागेको भन्दै चिन्ता जनाए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईका जनताले सिचाइँको माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गरेर बेमौसमको बाजा बजाइरहेको बताए ।उनले भने, ‘तराई मधेसमा जनताले खेत बारीमा सिचाइँ खोजेका छन् ।

पानीजहाज खोजेका छैनन् । पानीजहाज ल्याउन सबै पानी एकठाउँमा जम्मा गर्नुपर्छ । त्यस्तो भयो भने खेतबारी सख्खा हुन्छन् ।’वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरूले जनतालाई धोका दिइरहेको बताए । ‘जनताले अपेक्षा गरेको कुनै पनि काम यो सरकारले गर्न सकेन’, उनले भने, ‘अब चुपचाप सहेर बस्न सकिँदैन ।’पौडेलले सरकारले भ्रष्ट, भूमाफिया, तस्करलगायतलाई संरक्षण गरेर राखेको आरोप लगाए ।

उनले सरकारी जग्गा कब्जा गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् ।महामन्त्री डा.शशांक कोइरालाले सबै शक्ति केन्द्रित गरेर प्रधानमन्त्री शक्तिशाली बन्ने होडमा लागेको बताए । उनले कांग्रेसले फेरि जनताको अधिकारका लागि कम्युनिस्टहरूविरुद्ध लड्ने बेला भएको बताए ।सांसद मोहम्मद अफ्ताब आलमले जनताको अधिकारका लागि कांग्रेस सधैँ अग्रभागमा रहने बताए ।

उनले कम्युनिस्टहरूले तराई मधेसको विकास गर्न नसक्ने भन्दै विकासका लागि कांग्रेस नै आउनुपर्ने बताए ।सांसद देवप्रसाद तिमिल्सिनाले कम्युनिस्ट सरकारको झुठो आश्वासनबाट नेपाली जनता आजित भएको बताए । उनले कांग्रेसको आधार क्षेत्र तराई मधेसबाट कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।नेपाल तरुण दलका महामन्त्री भुपेन्दजंग शाहीले वर्तमान सरकार हरेक ठाउँमा असफल भएको बताए ।

उनले सरकारी जग्गा कब्जा गर्नेहरूलाई प्रधानमन्त्री ओलीले संरक्षण गरेर बालुवाटारमा राखेको आरोप लगाए ।दुई महिना अगाडि रौतहटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि प्रदेश २ स्तरीय आमसभाको आयोजना गरेको थियो । सोही कार्यक्रमलाई काउन्टर दिँदै रौतहट कांग्रेसले भव्य आमसभाको आयोजना गरेको हो ।