रविन्द्र मिश्रको पार्टीको नाम फेरियो, के राखियो ?

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख १४, २०७६

काठमाडौँ- विवेकशील साझा पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । अब पार्टीको नाम ‘साझा विवेकशील पार्टी’ कायम गरिएको छ । पार्टीको नाममा रहेको विवेकशील शब्दलाई पछाडि सारिएको छ ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नाम परिवर्तन भएको जानकारी दिएका छन् ।

प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आम रुपमा देखिएको अन्योल र भ्रम चिर्न त्यसले सिर्जना गरेका प्राविधिक जटिलताहरूलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ ।’

यस्ता छन् केन्द्रीय समितिकको बैठकले गरेका निर्णय:

आज देश एउटा गम्भिर विरोधाभाषबाट गुज्रिरहेको छ । एकातिर दुईतिहाई बहुमतसहितको शक्तिशाली सरकार छ । अर्कोतिर आम नागरिकमा देशको दूरावस्थाप्रति चरम निराशा उत्पन्न भएको छ । राज्यको हरेक निकायमा भएको असोचनीयस्तरको राजनीतिकरण, भ्रष्टाचार र वेथितिले मातृभूमीको स्वाभिमान र संवृद्धिको आशामाथि कुठाराघात गरिदिएको छ । यसले इमानदार, सक्षम र देशभक्त वैकल्पिक पार्टीको अपरिहार्यतालाई व्यावहारिकरूपमैँ प्रमाणित गरिदिएको छ ।

सोही परिप्रेक्ष्यमा हाम्रो पार्टीले देशको राजनीतिक परिस्थितिलाई गम्भिर ढङ्गबाट विश्लेषण गरी तदअनुसार पार्टीको रणनीतिक कार्यक्रम तय गर्न वैशाख ११, १२ र १३ गते पार्टी संयोजक रवीन्द्र मिश्रको अध्यक्ष्यतामा बसेको केन्द्रीय समितिको पूर्ण वैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । ती निर्णयका प्रमुख बुँदाहरू निम्न अनुसार छन् ।

१. जेठको १ गतेदेखि कम्तिमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तर्कृया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने छ । सो यात्राका क्रममा आम जनताको चासोका राष्ट्रिय एजेन्डा र अपेक्षाको पहिचान गरिने छ । साथै वृहत राष्ट्रिय स्वार्थ, मातृभुमीको सेवा र स्वाभिमान, भ्रष्टाचारमुक्त राज्य, सुसंस्कृत राजनीति र समतामुलक संवृद्धिप्रति प्रतिवद्ध हरेक नागरिकसँग देश रूपान्तरणको अभियानमा कसरी हातेमालो गर्न सकिन्छ भन्नेबारे बिमर्श गरिने छ । सो यात्रामा पार्टीसँग आवद्ध नभए पनि देशको रूपान्तरणमा सकृय रहेका कुनै पनि तप्का र विचारका प्रवुद्ध व्यक्तित्वहरूलाई संभव भएसम्म सामेल गरिनेछ । यात्राको निचोडका आधारमा पार्टीले विविध एजेन्डा र अडान तथा उच्च नेतृत्व लगायत विभिन्न तहका समितिलाई विस्तार गर्ने बारेमा आवस्यक निर्णय लिनेछ ।

२. सन्सारका विभिन्न सुसंस्कृत देशहरूले अभ्यास गरेजस्तै स्थानीय तहको निर्वाचन गैर-दलीय बन्नु पर्छ भन्ने धारणालाई पार्टीले आफ्नो एउटा प्रमुख एजेण्डा बनाउने छ । त्यसले दलिय संबद्धताको आडमा स्थानीय तहमा हुने भ्रष्टाचारलाई न्यूनिकरण गर्नमात्र मद्दत गर्दैन, समाजको हरेक पक्षमा व्याप्त अनावश्यक र घातक दलिय भागभन्डा र अवाञ्छित राजनीतिकरणले ल्याएका विकृतिलाई पनि रोक्न मद्दत पुर्याउँछ ।

३. भ्रष्टाचारले आक्रान्त समाजमा पार्टीले आउँदा दिनहरूमा आफ्ना गतिविधिलाई मूलतस् भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत गर्नेछ ।

४. देशको रुपान्तरणको सोच र अभियानमा युवाहरुको यथोचित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय गरेको छ ।

५. विदेशमा रहेका पार्टीका सदस्यहरूलाई ‘विशेष प्रदेश’को मान्यता दिने, पार्टीको निर्वाचनमा उनीहरूलाई मतदानको अधिकार दिने, विदेशका पार्टी आवद्ध सद्भाव समूहहरूले पार्टीको महाधिवेशनमा प्रतिनिधहरू पठाउन सक्ने र सद्भाव समूहरूको अन्तराष्ट्रिय सञ्जालका संयोजकलाई पार्टीको पदेन केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरिएको छ ।

६. हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरूपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सृजना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ ।

७. सबैको सद्भाव, सहयोग र सकृयताबिना यो देशमा सुसंस्कृत राजनीति स्थापित गरेर समतामूलक संवृद्धि हासिल गर्ने हाम्रो लक्ष्य पुरा हुन सक्दैन । आवश्यक आर्थिक आधारबिना पार्टी निर्माण हुनै सक्दैन । त्यसैले पार्टीले ‘दिनक एक कप चिया कम पिउँ, बचेको रकम साझा विवेकशीललाई सहयोग गरौँ’ अभियान सञ्चालन गर्नेछ। कोष संकलनका अन्य अभियान कायम रहने छ ।

८. पार्टीले नीतिगत प्राथमिकता सहित वृहत क्षेत्रगत नीतिहरू तय गरको छ । तीन महिने यात्राको क्रममा प्राप्त सुझावहरू पनि समेटेर विस्तृत कार्यक्रमहरू तर्जुमा गरिने छ ।