भोजपुरबाट खतिवडाको गर्जन : ओलीजी कति दिन हावा गफ गर्ने ?

मिडिया डबली प्रकाशित : बिहिबार, बैशाख १२, २०७६

http://www.nepatop.com.np/

भोजपुर – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले देशलाई बुलेटबाट चलाउन खोजेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका नेता स्वर्गीय रामकृष्ण ताम्राकारलाई श्रद्धाञ्जलि दिन बुधबार नेपाली कांग्रेस भोजपुरले भोजपुरमा आयोजना गरेको कार्यक्रममा नेता खतिवडाले कम्युनिस्टहरूको बुलेटको राजनीतिलाई नेपाली जनताले अस्वीकार गर्ने बताएका हुन् ।

बुलेटबाट शासन गर्न खोजियो भने खड्गप्रसाद ओली सरकारका दिन गन्ती शुरु हुने भन्दै खतिवडाले त्यसको नेतृत्व कांग्रेसले गर्ने चेतावनी दिएका छन् ।

‘जनताले दिएको दुई तिहाइको म्याण्डेटलाई कम्युनिस्टहरूले दुरुपयोग गरेर बुलेटबाट देशलाई चलाउन खोजेका छन्’, उनले भने, ‘नेपाली कांग्रेसले लोकतन्त्रिक पद्दतिबाट कम्युनिस्टहरूलाई जनताको भोटबाट सत्तामा पुगायौँ । अहिले आएर बुलेटको राजनीति गर्न खोज्न संविधान र जनमतविरुद्ध हो ।’

कम्युनिस्टहरूको अधिनायकवाद स्वरुप प्रधानमन्त्री खड्गप्रसाद ओलीले निरंकुशताको प्रयास गरिरहेको नेता खतिवडाले बताए ।

‘दोस्रो जनआन्दोलनका बेला अहिलेका हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीजी आफै ठेला गाडीमा चढेर अमेरिका पुग्न सकिँदैन भन्नु हुन्थ्यो । ठेला गाडा चढेर अमेरिका पुग्न नसकिने जस्तै नेपालमा लोकतन्त्र आउनु एउटै हो भनेर अभिव्यक्ति दिनुभएको थियो ।’

कांग्रेसका युवा नेता खतिवडाले भने, ‘उहाँलाई लोकतन्त्रिक मुलुकको प्रधानमन्त्री बनायौँ । दुई तिहाइ बहुमत दियौँ । अनि अहिले दिन दिनै ठूला–ठूला गफ गर्ने बनायौँ ।’

खतिवडाले प्रधानमन्त्री ओलीलाई हावादारी गफ नगर्न सुझाव र सल्लाह दिएका छन् । ‘प्रधानमन्त्रीको हावा गफ सुनेर गाउँका जनता दिक्क भएका छन्’, उनले भने, ‘काम गरेर देखाउनुस् । गफ नगर्नुस् । तपाईलाई मतदान गरेकै जनताले कम्युनिस्टहरूको बिकल्प खोज्न थालिसके ।’

देशको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ को मुख्यमन्त्री रहेको जिल्लामा विकास निर्माण हुन नसकेकोमा कांग्रेस नेता खतिवडाले चिन्ता भएको बतबबए ।

‘भोजपुरबाट राष्ट्रपति र प्रदेश १ को मुख्यमन्त्री भएका छन् । यो जिल्लामा विकासको बाढी आएको होला भन्ने ठानेको थिएँ’, खतिवडाले ब्याङ्ग्य गर्दै भने, ‘राष्ट्रपति र मुख्यमन्त्रीको जिल्लामा त विकास हुनै सकेको रहेनछ । अब यो जिल्लाको विकास र भविष्य नेपाली कांग्रेससँग जोडिएको छ । कांग्रेसका जनप्रतिनिधिहरूले विकास गर्नु हुन्छ ।’

नेता खतिवडाले प्रधानमन्त्री ओलीलाई पानीजहाज र रेलभन्दा पनि भोजपुरका जनताको इच्छा के छ ? भनेर ध्यान दिन सुझाव दिए ।

‘राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई मेरो विशेष अनुरोध छ । पानीजहाज र रेलको कुरालाई पर राखेर भोजपुर आउने रोडलाई पिच गरिदिनुस्’, कांग्रेसका युवा नेता खतिवडाले भने, ‘जनतालाई पहिला आधारभूत कुराहरू आवश्यक छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले कांग्रेसले निर्वाचन हार्दा देश र जनताले दुःख पाएको बताए । ‘सम्पूर्ण हामी लोकतन्त्रप्रति आस्थावन नेपाली कांग्रेसको सिपाहीहरू अब लोकतन्त्र रक्षाको लागि एक हुनुपर्छ’, उनले भने, ‘कांग्रेसले चुनाव हार्दा नेपाली जनताको अधिकार खोसिएको छ । दिनदिनै बलत्कार, हत्य, हिंसा र भ्रष्टचार बढेको छ ।’

दुई तिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली हरेक ठाउँमा असफल भएको बताए । ‘ओलीजीलाई निरंकुश र अधिनायकवादी बन्न मन लागेको छ’, उनेले भने, ‘सबै अधिकार आफूमा केन्द्रित गरेर के गर्न खोज्नु भएको छ सबैलाई थाहा भइसकेको छ । नेपाली सेनतालाई समेत उहाँले आफू मातहतमा राखेर अराजकता निम्ताउन खोज्नुभएको छ । यो कुरा नेपाली कांग्रेसलाई मान्य छैन ।’

उनले भने, ‘नेपाली कांग्रेसले निर्वाचनमा गणितीय रुपमा हा¥यो होला । तर, सैद्धान्तिक रुपमा जितेका छौँ’, उनले भने, ‘राजा र राणाको अन्त्य गर्दै नेपाली कांग्रेसले देशमा लोकतान्त्रिक संघीय गणतन्त्र ल्याइदिएको छ । हिजोका दिनमा ५४ दिनसम्म सदन घेरेर सदन चल्न नदिने एमाले र १२ वर्षसम्म युद्ध गरेको माओवादीलाई हामीले लोकतन्त्रिक पद्दतिमा ल्याएर चुनावी प्रकियामा सामेल गरायौँ । उनीहरूलाई परिवर्तन गरायौँ । यो हाम्रो जित हो । कम्युनिस्टहरूले कांग्रेसलाई आदर्शका रुपमा लिनुपर्छ । गुरु मान्नुपर्छ ।’

वतर्मान कम्युनिस्ट सरकाले ठूला–ठूला सपना जनतालाई बाँड्दै ठूला–ठूला भ्रष्टचार गर्दै आएको कांग्रेसका युवा नेता खतिवडाले बताए । ‘चाहे त्यो वाइड बडीको ४ अर्ब ३५ करोडको भन्नुस् । चाहे त्यो बुढीगण्डकी ३०–४० अर्बभन्दा धेरैको भ्रष्टाचार होस् सबैमा यो कम्युनिस्ट सरकार बदनाम भएको छ ।’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले बिनाप्रतिस्पर्धा विवादित चाइनाको कम्पनीलाई बुढीगण्डकी दिएको उनले आरोप लगाए ।

नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारका हरेक गलत कुराको भण्डाफेर गर्ने खतिवडाले बताए । ‘नेपाली कांग्रेस त्यस्तो शक्ति हो । राणाहरूले सिद्धाउन खोजे । आफू समाप्त भए । राजाले सिद्धाउन खोजे । आफै समाप्त भए । माओवादीले कांग्रेसलाई सिद्धाउन खोज आफू भुटिएर गए । माओवादीको नामोनिसान छैन । एमालेले कांग्रेसलाई सिद्धाउन खोज्यो । आफै लोप भएर गएको छ’, उनले भने, ‘कम्युनिस्टहरू लोभ र लालचका लागि मिल्छन् । उनीहरूको गतिविधिले त्यही देखाएको छ । त्यसैले नेपाली कांग्रेसको शक्ति सामु कम्युनिस्टहरू झुक्ने नै हुन् ।’

कांग्रेसका युवा नेता खतिवडाले कांग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गाउँ गाउँबाट शुरु गर्नुपर्ने बताए । उनले गाउँमा कांग्रेसलाई बलियो बनाएपछि देश र जनताको हित हुने बताए ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडालाई पार्टीले जनजागरण अभियानमा सहभागी हुन भोजपुर जिल्लामा खटाएको छ । कांग्रेसका नेता रामकृष्ण ताम्राकारको मंगलबार निधन भएपछि बुधबारबाट शुरु हुने भनिएको जनजागरण अभियान केही समयका लागि स्थगित भएको छ ।