कांग्रेसमा भर्खरै अर्काे निर्णय, देशव्यापी जनजागरण अभियानको नयाँ मिति घोषणा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १०, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएपछि सारिएको देशव्यापी जनजागरण अभियानको नयाँ मिति घोषणा गरिएको छ ।

पूर्वमन्त्री ताम्राकारको निधनका कारण कांग्रेसले तीन दिन शोक समेत घोषणा गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिका अनुसार जनजागरण अभियान बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म देशभर सञ्चालन हुने निर्णय गरिएको छ ।

प्रथम चरणको एक महिने ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियान’को मिति परिवर्तनबारे जानकारी दिन मुख्यसचिव पौडेलले विज्ञप्ति जारी गरेका छन् ।

ताम्राकारको निधनलगत्तै कांग्रेसका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यको आकस्मिक बैठकले तीन दिन शोकको निर्णय गरेको छ । बैठकले शोक व्यक्त गर्दै पार्टीका सबै कार्यक्रम ३ दिनसम्म स्थगित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले मिडिया डबलीलाई जानकारी दिए ।

पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुँदा तीन दिन पार्टी कार्यालय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट शुरू हुने कार्यक्रम प्रभावित हुने भएको छ ।

रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक–पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिति गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको थियो । करीब दुई हप्ताअघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

निमोनिया समेत भएका उनको स्थिति अझ गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो । ताम्राकार विगत दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।

ताम्राकार विक्रम संवत् २०४८ र ५६ मा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालय सम्हालेका थिए ।