नो फोटो जोनमा कसले दियो रास्ट्रपतिलाई तस्बिर खिच्न ? सामाजिक सन्जालमा भाइरल

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख ८, २०७६

http://www.nepatop.com.np/

भक्तपुर- भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्तीको अवसरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी तलेजु मन्दिर पुगेकी थिइन् । उनले भक्तपुरमा आयोजित नवदुर्गा नाच प्रदर्शन तथा पूजाआजाा गरेकी थिइन्।

राष्ट्रपति भण्डारी तलेजुमा पहिलोपटक पुगेकै दिन सामाजिक सन्जालमा विवादमातानिएकी छिन्। फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएर उनी विवादमा आएकी हुन् ।

फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा राष्ट्रपति नै नियम पालना नगर्ने भन्दै कडा आलोचना गरिएको छ ।

फोटो खिच्न मनाही गरिएको ठाउँमा खिचिएको फोटोमा राष्ट्रपति भण्डारीसँगै भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद महेश बस्नेत, प्रदेश नं. ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमेत रहेका छन्।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सचिव राजुमृग्रेन्द्र जोशी, तलेजुका कर्माचार्य नाइके सिद्धिवीर कर्माचार्यलगायतसमेत सामूहिक फोटोमा देख्न सकिन्छ।

सामाजिक सञ्जालमा सर्वसाधारण र विदेशी पर्यटकलाई फोटो खिच्नै नदिने र खिचे पनि मेट्न लगाउने तलेजुको सुरक्षा गर्दै आएका नेपाली सेनाका जवानहरुले राष्ट्रपति आउँदा भने फोटो खिच्न दिएको भन्दै तिब्र रुपमा आपत्ति जनाएका छन् ।

भक्तपुर दरबार क्षेत्रस्थित तलेजु प्रवेश गर्ने स्वर्णद्वार हुँदै अर्को ढोका छिर्नेबित्तिकै त्यहाँ ‘नो फोटो’ भनी लेखिएका बोर्डहरु ठाउँ -ठाउँमा राखिएका छन् । त्यस्तै तलेजु मूलचोक प्रवेश गर्ने मुख्यद्वारको दायाँबायाँ पनि उक्त बोर्ड राखिएको छ ।

उक्त मुख्यद्वारको दायाँतिर ठूलै बोर्डमा फोटो खिच्न नहुने मात्रै होइन तलेजुभित्र छिर्दा लगाउन हुने र नहुने तथा तलेजुभित्र लान हुने र नहुनेबारे जानकारीमूलक ठूलो सूचनाको बोर्ड छ । यी सबैलाई ख्यालै नगरी राष्ट्रपतिसहितको फोटो खिचिएपछि सामाजिक सन्जालमा आलोचना भएको हो ।