जनकपुरमा निधिले भित्र्याए ७५ जना कांग्रेसमा

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख ८, २०७६

जनकपुर – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराई मधेशलाई जोडेर सबै क्षेत्रका जनताको पक्षमा काम गर्ने एकमात्र पार्टी कांग्रेस भएको बताएका छन्।

धनुषामा भएको कार्यक्रममा सम्बोधन गर्दै निधिले केन्द्र सरकार र प्रदेश सरकारले मधेशी जनताका पक्षमा केही पनि काम गर्न नसकेको भन्दै उनले लोकतन्त्र बिरोधी सरकारका बिरुद्ध उत्रन नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

धनुषाको नगराईन नगरपालिका वडा नं ५ बाट राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी ७५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन्। राजपाका हर्षनारायण झाको नेतृत्वमा पार्टी प्रबेश गरेकाहरुलाई नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको सदस्यता प्रदान गरेका थिए।

राजपा छाडेर कांग्रेस प्रबेश गरेका स्थानीय नेता तथा कार्यकर्तालाई लोकतन्त्रका पक्षमा निरन्तर खबरदारी गर्न उपसभापति निधिले आग्रह गरे।