ओली कमाउ धन्दामा लागेको भन्दै नेकपामा विद्रोह, कांग्रेसको जनसागरमा मिसिए कम्युनिस्ट

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख ७, २०७६

http://www.nepatop.com.np/

मोरङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर कांग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ ।

मोरङको कानेपोखरी–७ का १४४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्ने सबै नेकपा समर्थित हुन् ।

शनिवार वडा नम्बर ७ को शुक्रबारे र चालिस बिघेमा भएका छुट्टाछुट्टै कार्यक्रममा कम्युनिस्टहरू कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेलाई नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर सुनिल शर्मा, कांग्रेस नेता बसन्त भट्टराई, प्रदेशसभा सदस्य सुयर्माराज राई र नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष एवं महासमिति सदस्य केशव निरौलाले पार्टी सदस्यता दिई फुलमालाले स्वागत गरेका छन् ।

चालिस बिघेमा ९१ जनाले नेकपा परित्याग गरेका छन् भने शुक्रबारेमा ५३ जनाले नेकपा छोडेका छन् । नेकपा छोड्नेमा धेरैजसो पूर्वनेकपा माओवादीका छन् भने केही तत्कालीन नेकपा एमालेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस महासमिति सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि वसन्त भट्टराईले कम्युनिस्ट सरकार कमाउ धन्दामा लागेको बताए । उनले युवाहरू ढिलै भएपनि कांग्रेसमा प्रवेश गरेर लोकतन्त्रको संस्थागत विकासको अभियानमा सहयोग पुर्याएको बताए । भट्टराईले कांग्रेसमा प्रवेश गर्नेले कहिल्यै पनि निराश हुनु नपर्ने बताए ।

कांग्रेस नेता डाक्टर सूनील शर्माले कांग्रेसमा प्रवेश गर्ने हरेक युवालाई जिम्मेवार बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘हाम्रो निरोगी नागरिकको अभियान गाउँगाउँमा पुगिसकेको छ । अहिले हामी विपन्न, अल्पसंख्यक र दलितका लागि निःशुल्क प्राविधिक शिक्षाको अभियान चलाइरहेका छौं ।’

प्रत्येक गाउँमा एक जना स्वास्थ्य प्राविधिक उत्पादन गर्ने लक्ष्य पूरा गर्न गाउँगाउँका विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिइरहेको शर्माको भनाई छ । शर्माले यो वर्ष अझै केही पुरुष विद्यार्थीका निःशुल्क शिक्षा दिन सकिने बताए ।

अर्का महासमिति सदस्य केशव निरौलाले एउटा चुनाव हार्दैमा कांग्रेस नसकिने बताए । उनले कांग्रेस हार्दा लोकतन्त्र कमजोर हुने बताउँदै कांग्रेसलाई सुदृढ बनाउन अहिले हिमाल पहाड तराई नेपाली कांग्रेस राष्ट्रिय अभियान शुरू भएको उल्लेख गरे । २०७५ सालमा नेकपाको सरकारले गरेको व्यवहारले लोकतन्त्रप्रति ढुक्क हुने अवस्था नरहेको निरौलाको भनाई थियो ।

उनले नेकपाको सरकारविरुद्ध कांग्रेस लाग्नु नपर्ने बताउँदै कम्युनिस्टविरुद्ध कम्युनिस्ट नै सडकमा ओर्लिएकाले लोकतन्त्र धरापमा पर्दै गएको दाबी गरे । प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद उदाङ्गो हुँदै गएको चर्चा गर्दै निरौलाले भने, ‘यस्तो राष्ट्रवादले मुलुकको रक्षा गर्न सक्दैन । पार्टीका केही कार्यकर्ता धनी बने पनि अधिकांश नक्कली राष्ट्रवादको विपक्षमा रहेका छन् ।’

वडा संयोजक रत्न भुजेलको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव काशीनाथ खनाल, पवन खत्री र हिमप्रसाद तिम्सिनाले बोलेका थिए ।