कांग्रेस नेताले दिल खोलेर दिएको एम्बुलेन्समा कम्युनिस्टले गरे राजनीति, बिरामीलाई दिनुपर्ने सुविधा ठप्प !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख ७, २०७६

काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपालि कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टको पहलमा डोटीको जोरायल गाउँपालिकामा ४ महिना अगाडी हस्तान्तरण गरिएको एम्वुलेन्स कम्युनिष्टले राजनीति गरेपछि अहिले सम्म चल्न सकेको छैन ।

एम्वुलेन्स नेपाली कांग्रेसका नेताले दिएको भन्दै कम्युनिस्टले राजनीति गरेको बताइएको छ । एम्बुलेन्स विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरिद गरेको थियो । गाउँपालिकाले ४ महिना देखि नै प्रथामिक स्वास्थ्य चौकी जोरायलमा एम्वुलेन्स थन्काएको हो।

नेकपा एमालेबाट विजयी भएका जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रशाद ओझाले नेपाली कांग्रेसका नेता विष्टले विना कारण नाम उल्लेख गरेकोले एम्वुलेन्स चलाउन नदिएको बताएका छन्। उनले अगामी आर्थिक बर्षमा गाउँपालिकाबाट बजेट विनियोजन गर्दै नयाँ एम्वुलेन्स खरिद गर्ने दावी गरे।

अहिले गाउँपालिकामा एउटा पनि एम्वुलेन्स छैन्। कांग्रेस नेता विष्टले आफ्नो पहलमा एम्वुलेन्स ल्याईएको भन्दै पौषको दोश्रो साता बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए। अमेरिका नेपाल सम्पर्क समितिका सभापति समेत रहेका विष्ट जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय हुन्।

नेता विष्टले गाउँपालिकालाई विभिन्न दाताहरु तथा अमेरीकामा रहेको आमा फाउण्डेसनबाट सहयोग जुटाएर प्रति एम्वुलेन्स ११ लाख पर्ने दुई वटा एम्वुलेन्स खरिद गरेको बताउँदै आएका छन्।