कांग्रेस नेता खतिवडाको आह्वान : सरकारी अरिंगाल जनता टोक्दैछन्, नेविसंघ तात्नुपर्‍यो !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, बैशाख ६, २०७६

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले सरकारी अरिंगालहरू जनता टोक्दै हिँड्काले नेपाल विद्यार्थी संघ (नेविसंघ) तात्नुपर्ने बताएका छन् ।

विश्वभाषा क्याम्पस एकाई समितिद्वारा आयोजित नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान, चियापान तथा भित्तेपात्रो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद खतिवडाले नेविसंघले सरकारी अरिंगाललाई परास्त गर्न सक्ने बताए ।

नव वर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले सन्तनेता कृष्णप्रसाद भट्टराईलाई सम्झिएका छन् ।

‘लोकतन्त्रवादीहरू, सही समयमा सही ठाउँमा सही काम गर्नेहरू कही पनि पराजित हुने छैनन भन्ने सन्देश यो विश्वभाषा क्याम्पसले सिकाएको छ, बधाई दिन चाहन्छु,’ उनले भने ।

कम्युनिस्टको दुईतिहाइको सरकारबाट प्रेस स्वतन्त्रता, कानूनी राज्य, मानवअधिकार र विद्यार्थीको हक अधिकार हनन् भएको बेला विद्यार्थी संघ अब एकपल्ट लड्नुपर्ने उनले बताए । ‘नेपाल विद्यार्थी संघ हिजो पञ्चायतसँग लडेको संगठन हो,’ उनले स्मरण गरे ।

अरु दलका संगठनहरू सरकारको हुन्डी खाएर सरकारलाई बचाउन लागेका र अरिंगाल भएर जनतालाई तोक्दै हिँडेकाले अब अन्यायको विरुद्धमा लड्न तत्पर हुन उनले नेविसंघलाई निर्देशन दिए ।